Shittalpati
पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह

पाल्पा,नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले सभापति सञ्चार सचिवालयको फेसबुक पेजबाट व्यापार साझेदार केही देशहरुले आफ्ना निश्चित उत्पादनहरु निर्यातमा रोक लगाउने निर्णयले बजारभाउ महँगीदै जानु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नागरिकको जनजीवन कष्टकर बन्दै गएकाले त्यसको दीर्घकादीन समाधान खोज्न सरकारसमक्ष आग्रह गरेका हुन् । सभापति श्रेष्ठले पेट्रोलियम पदार्थमा लगाइएको दोहोरोकरको पुनर्विचार गर्न र महँगीको मारमा परेका नागरिकलाई राहत प्याकेजमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उत्पादनका कार्यक्रम सञ्चालन गरेर नागरिकलाई आत्मनिर्भर बनाउन पनि उनले सरकारलाई अनुरोध गरे ।

सभापति श्रेष्ठले पछिल्लो समय आमनागरिकमा राजनैतिक दल र सरकारप्रति देखिएको वितृष्णाका कारण काठमाडौ,धरान र धनगढीको स्थानीय निर्वाचनको परिणाम नसोचेको आएको समेत उल्लेख गरेका । ‘राजनैतिक दल र सरकार प्रति आमनागरिकको वितृष्णा बढ्दो छ । काठमाडौ,धरान र धनगढीको स्थानीय निर्वाचनको परिणाम यसैको उपज हो । कानुनी राज्यको प्रमुख अवयव मध्ये उत्तरदायी शासन प्रणाली पनि हो । देश भूगोल मात्र होईन सामुहिक भावना पनि हो । तर पछिल्लो समय सरकारबाट भए गरेका निर्णयहरु त्यस्तो देखिदैन । महँगीले नागरिक आक्रान्त छन् । व्यापार साझेदार केही देशहरुले आफ्ना निश्चित उत्पादनहरु निर्यातमा रोक लगाउने निर्णयले बजारभाउको कहाँलिलाग्दो अनुमान गर्न सकिन्छ । मुख्यतः पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनजीवन कष्टकर बनेको छ । यसमा लाग्दै आएको दोहोरो कर पुनर्विचार गर्न अथवा राहत प्याकेजमार्फत सम्बोधन गर्न आग्रह गर्दछु’ सभापति श्रेष्ठले सामाजिक सञ्जालमा भनेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update