कृष्ण पोखरेल
पाल्पा, पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि जिल्लाको रामपुर नगरपालिका २ का एक जनामात्रै दलित उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण बहादुर दर्जी जिल्लाको एक्ला दलित वडाध्यक्ष बनेका छन् । उनले नेकपा एमालेका कृष्ण बहादुर थापालाई पराजित गर्दै पाल्पाको एकल दलित वडा अध्यक्ष बन्ने सौभाग्य पाएका हुन् । दर्जीले वडा अध्यक्षमा विजयी भएसँगै जिल्लाको सिङ्गो दलित समुदायको प्रतिनिधित्व गरेका छन् ।
२०५० सालदेखी नेविसंघको राजनीति गरेका दर्जी नेपाली काँग्रेस पाल्पाको दुई कार्यकालसम्म जिल्ला सदस्य भई पार्टीको जिम्मेवारी सम्हाले । पार्टीको कूशलतापूर्वक जिम्मेवारी बहन गरेकै कारण उनी वडा अध्यक्षको उम्मेदवार बन्ने शौभाग्य पाएका थिए । उनले उम्मेदवार बन्ने शौभाग्य मात्र पाएनन् वडाध्यक्ष बन्ने अवसर समेत पाए । यो अवसर दलित समुदायका कमैले पाउन्छन् । संविधानमा स्थानीय तहमा गठन हुने नगर कार्यपालिका र गाउँ कार्यपालिकामा दलित वा अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने व्यवस्था छ । तर कानुनी रूपमा जस्तो व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशी राजनीतिको मर्मप्रति जिम्मेवार नहुँदा दलित समुदायले नेतृत्व तहमा पुग्ने विरलै अवसर पाउँछन् । त्यो अवसर दर्जीले पाएका छन् । दर्जीले पार्टी भित्रबाट पनि वडा अध्यक्षको सिफारिसको लागि सघर्ष नगरेका भने होइनन् । वडा अध्यक्षमा दर्जी सहित ९ जनाको दावेदारी परेको थियो । सिफारिस भएका ९ जना मध्येबाट दर्जीले पार्टीको विश्वास जिती वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भई निर्वाचनमा समेत विजय हासिल गरेका हुन् । वडामा कुमाल, मगर, दलित र खस आर्यसमुदायको मिश्रित बस्ती रहेको छ । खस आर्यले पढाईमा ध्यान दिएपनि दलित, मगर कुमला समुदायले पढाईप्रति ध्यान नदिएका कारण उनीहरुलाई पढाई प्रति आकर्षित गर्न वडाका सबै बालवालिकाकालाई माध्यमिक तह सम्म निशुल्क शिक्षा प्रदान गर्ने पहिलो ऐजेण्डा रहेको निर्वाचित वडा अध्यक्ष दर्जीले बताए ।
अहिले अधिकाश दलित, मगर र कुमाल समुदायका बालवालिकाहरु कक्षा ८ पढेपछी केटाहरु ईण्डिया जाने, केटीहरु विवाह गर्ने चलनलाई पूर्णरुपमा हटाएर मावि सम्मको शिक्षा अनिवार्य गर्ने त्यसका लागि सबै सहयोग वडाबाट गर्ने गरी काम गर्ने योजना रहेको उनले बताए । रामपुर वडा नंं २ मा प्रशस्त खेतीयोग्य जमिन रहेकाले सबै टोल टोलको कृषि प्राविधिकबाट माटो परीक्षण गराएर, माटो सुहाउँदो खेती प्रणालीको विकास गर्ने, सामुहिक खेती देखी ठूला कृषि फार्महरु सञ्चालनको लागि वडाबाट सहयोग प्रदान गर्ने वडा अध्यक्ष दर्जीले बताए । वडाका सबैको घरमा अनिवार्य रुपमा एक घर एक करेसावारी सञ्चालन गर्ने योजना वडा अध्यक्ष दर्जीले बनाएका छन् । जेष्ठ नागरिक, दलित, गरिव, अपा·लाई स्वास्थ्य चौकीमा सबै किसिमको निःशुल्क उपचार प्रदान गर्ने, स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने बृद्धबृद्धा र अपा·लाई घरमै उपचार सेवा प्रदान गर्ने वडा अध्यक्ष दर्जीले बताए ।