Shittalpati
एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले पाल्पाले १० वटै पालिकाका प्रमुख, उप प्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेले केही नयाँ अनुहार र केही पुरानालाई ल्याएर जिल्लाको दुई नगर र आठ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।

तानसेन नगरपालिकाको प्रमुखमा पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरे, उप प्रमुखमा शशी श्रेष्ठलाई एमालेले उम्मेदवार बनाएको छ । उपप्रमख श्रेष्ठ हाल तानसेन नगरपालिकाको कार्यपालिका सदस्य हुन् । बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरी प्रसाद पाठकलाई एमालेले उम्मेदवार बनाएको छ । अध्यक्ष पदकी उम्मेदवार चिदी गाउँपालिकाको निर्वाचित उपाध्यक्ष हुन् ।

यस्तै रिब्दीकोट गाउँपालिको अध्यक्षमा वर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सी. र उपाध्यक्ष लक्ष्मी खनाललाई उम्मेदवार बनाइएको छ । दुबै उम्मेदवारलाई एमाले पाल्पाले निरन्तरता दिएको हो । तिनाउ गाउँपालिकाको अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा रानालाई उम्मेदवार बनाएको छ । तिनाउमा दुबै पदमा एमालेले नयाँ उम्मेदवार छनौट गरेको हो । निस्दी गाउँपालिकाको अध्यक्षमा मुक्त बहादुर सारु, उपाध्यक्षमा तिरण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । अध्यक्ष सारु २०७४ को स्थानीय निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन भने तिरण नयाँ उम्मेदवार हुन । पूर्वखोला गाउँपालिकामा पुरानै जनप्रतिनिधि नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाएको छ । माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेलाई उम्मेदवार टुंग्याएको छ । दुवै स्वास्थ्यकर्मीबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् ।
रम्भा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्षमा राधादेवी श्रेष्ठ लाई नै पुन दोहोर्याइएको छ । रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष राम बहादुर राउत, उपाध्यक्षमा गिता घिमिरे, रामपुर नगरपालिकाको प्रमुखममा शिव अर्याल, उप प्रमुखमा दुर्गा देवी रानालाई उम्मेदवार छनौट गरिएको नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए ।

पाल्पामा २०७४ सालको स्थानीय निर्वाचनमा ६ प्रमुख ७ उप प्रमुखम ४१ वडामा नेकपा एमाले, ४ प्रमुख ३ उप प्रमुख र ३६ वडामा नेपाली काँग्रेस र ४ वटा वडामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको थियो । गठवन्धनले २०७४ सालमा विजयी वडाहरुका सम्वन्धित दलले नै उम्मेदवारी दिने र एमालेले जित हासिल गरेका वडाहरुमा सिट बाडफाँडको अन्तिम तयारीमा जुटेका छन् । ५ दलिय गठवन्धनले नेपाली काँग्रेसलाई १० स्थानीय तह मध्ये ६ वटा, नेकपा माओवादी केन्द्रलाई २ वटा नेकपा (एकीकृत समाजवादी)लाई २ वटा पालिका प्रमुख पदमा सहमति गरेका छन् । एमाले पाल्पाले सबै पालिका बैशाख १२ गते उम्मेदवार मनोनय दर्ता गर्ने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update