पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले पनि घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राप्रपाले चुनावी घरदैलो अभियान सोमबारदेखि सुरु गरेको हो । उसले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई अमूल्य मत दिएर विजयी गराउन भन्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।
पाल्पाका सबै पालिका तथा वडामा राप्रपालाई विजयी बनाउन घरदैलो अभियानको सुभारम्भ गरिएको पार्टी अध्क्षय डुल बहादुर कुंवरले बताए । उनले पटक पटक अन्य दलहरुलाई विजयी बनाएको र यस पटक राप्रपालाई विजयी बनाउन मतदाताहरुलाई आग्रह गरे । उनले भने ‘राप्रपाले इमान्दारका साथ देशको विकास र विस्तार गर्ने भएकाले एक पटक स्थानीय तहमा पार्टीका उम्मेदवारलाई विजयी बनाउनुहोस् ।’ उनले पार्टीमा केन्द्रीय अधिवेशनसँगै पार्टी भित्रको आन्तरीक प्रतिष्प्रर्धा सकिएकाले नेता तथा कार्यकर्ताहरु एक भएर घरदैलो अभियानमा खटिएको बताए ।
अध्यक्ष कुँवरले राष्ट्रियता मजबुत गराउन राप्रपाको अहिले पुर्नजन्म भएको र राप्रपामा भ्रष्टाचारमा संलग्नलाई कुनै स्थान नभएको बताए । उनले जनताले अहिले राप्रपालाई खोज्न थालेको पनि बताए । यसै बिच केही व्यक्तिहरु राप्रपा प्रवेश गरेका छन् । सोमबार राप्रपाले सुभारम्भ गरेको घरदैलो अभियानका क्रममा नौ जना व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका हुन् । अध्यक्ष कुंवरका अनुसार तारा विश्वकर्मा, चेत कुमारी पुन, माधव कंडेल, जगन्नाथ ढकाल, अर्जुन लम्साल, विष्णु पोखरेल, मीनबहादुर घर्ती, शंकर भण्डारी र कर्णबहादुर ज्ञावली राप्रपा प्रवेश गरेका हुन् ।