Shittalpati
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड

पाल्पा, नेपाली काँग्रेस पाल्पाले जिम्मेवारी बाँडफाँड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।

काँग्रेसको विधान २०१७ अनुसार पार्टी सभापति हिमाल दत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समिति सहित विभिन्न समिति निर्माण गरिएको छ । ३० सदस्यीय जिल्ला कार्यसम्पादन समिति निर्माण गरिएको पार्टी सचिवालयले जनाएको छ । यस्तै सभापति श्रेष्ठकै संयोजकत्वमा १४ सदस्यीय जिल्ला संसदीय समिति, उपसभापति ज्ञानबहादुर गाहाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति, उपसभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति,सचिव सुनिता अधिकारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, सन्तोष कुमार थापाको संयोजकत्वमा ९ सदस्यीय सूचना तथा सञ्चार समिति,कोषाध्यक्ष मोहन प्रसाद श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ ।

काँग्रेसले पुरुषोत्तम अर्यालको संयोजकत्वमा अनुशासन समिति, विधान प्रसाद श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय घोषणापत्र तयारी समिति निर्माण गरेको छ । यस्तै यमलाल तिमिल्सिनालाई अनुगमन समितिको जिम्मेवारी दिइएको छ । काँग्रेसले दुर्गा रायमाझीको संयोजकत्वमा साँस्कृतिक समिति बनाएको छ । यस्तै तरुणदलका जिल्ला सभापति मेजरसिं केसीलाई युवा परिचालन समितिको जिम्मेवारी दिइएको छ ।

आशन्न निर्वाचन तथा जिल्लाको कार्यसम्पादनलाई चुस्तदुरुस्त बनाउन जिम्मेवारी बाँडिएको सूचना तथा सञ्चार समितिका संयोजक सन्तोष कुमार थापाले बताए ।

न्यूज डेस्क

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update