पाल्पा, जिल्लाको निस्दी गाउँपालिका नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली काँग्रेस निस्दीको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो ।
भेटघाट कार्यक्रमलाई नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले सम्बोधन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले वडातहदेखि नै काँग्रेसलाई जिताउन सबैलाई आग्रह गरे । उनले वडातहदेखिनै काँग्रेसले विजयी हासिल गरे समृद्धि र विकासको लहर आउने बताए । काँग्रेस जनताको पार्टी भएकाले सधै जनताकै हितमा काम गर्ने सभापति श्रेष्ठको भनाई थियो । ‘जनताले एक पटक कम्युनिष्टलाई बहुमत दिएर सरकारमा पठाए तर बहुमतको दम्भ देखाउदै एमालेले जनतालाई निरास बनाएपछि काँग्रेस खोज्दै जनता आएका छन्’सभापति श्रेष्ठले भने । उनले काँग्रेसका कुनै पनि कार्यकर्ताले कहि कतैबाट असुरक्षित महसुस गर्ने दिन नआउने पनि बताए । आफूलाई अहिले पद भन्दा बढी संगठनको ठूलो चिन्ता रहेको बताउदै सभापति श्रेष्ठले काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकोले सबैको भावना, मनोआकांक्षालाई आत्मसात गर्दै आफु अघि बढेको धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारी,नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति झमन बहादुर राजमगर, प्रदेश महाधिवेसन सदस्य किशोर पंगेनी,महाधिवेशन प्रतिनिधिहरु शालिकराम पाण्डे , पूर्ण कुमार सोती, महिला संघ निस्दी गाउँपालिकाका सभापति धनिमाया राना लगायतले नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन सबैले सहयोग गर्नुपर्ने बताए । काँग्रेस निस्दीका सभापति पूर्ण खाणको अध्यक्षता, शालिकराम पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।