रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय तहको निर्वाचन नजिकएसँगै पाल्पामा सत्तारुढ गठबन्धनको बैंठक बसेको छ । विहीबार केन्द्रमा बसेको गठबन्धनको बैंठकको निर्देशन अनुसार शुक्रबार पाल्पामा पनि गठबन्धनको बैंठक बसेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार काँग्रेस पाल्पाले गठबन्धनको बैंठक बोलाएको हो । स्थानीय निर्वाचनका लागि केन्द्रमा आवश्यकता अनुसार गठबन्धन गर्ने भनिए पनि जिल्ला तहमा गठबन्धन बारे ठोस निर्णय हुन सकेको छैन् । यहाँ सत्तारुढ दल गठबन्धन गरेर जान्छन् वा के गर्छन् भन्ने विषयमा अहिले चिया चौतारीमा बहस हुने गरेको छ । शुक्रबार पाल्पामा बसेको गठबन्धको बैंठकले पनि ठोस निर्णय गर्न सकेको छैन । पाँचै दलका प्रतिनिधि सम्मिलित संयन्त्र निर्माण गरेर वडातहदेखि पालिका र जिल्ला तहको वस्तुस्थिती अध्ययन गरेर मात्र ठोस निर्णयमा पुगिने नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए ।
निर्वाचनको समग्र परिस्थितिबारे केन्द्रमा छलफल हुने र वस्तुस्थितिबारे अध्ययन गर्न जिल्ला, पालिका र वडा तहमा पाँचै दलका प्रतिनिधि सम्मिलित संयन्त्र बन्ने उनले बताए । गठबन्धनमा रहेका पार्टीका तहअनुसारका प्रमुखहरू सम्मिलित संयन्त्रले विश्लेषणात्मक प्रतिवेदन बुझाउने सभापति श्रेष्ठले बताए । ‘वडा, पालिकाका संयन्त्रले पालिका तहमा कसको प्रभाव कस्तो छ भन्ने रिपोर्ट बुझाउने छन्, त्यसको आधारमा अगाडि बढ्ने काम हुन्छ,’उनले भने ।
उनका अनुसार निर्वाचनमा तालमेल गर्न गठबन्धनमा सहभागी दलहरूका जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरूको संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको कुरा हुने छ । ‘जिल्लमा जिल्लास्तरीय प्रमुखहरूको एउटा समिति बन्छ । समितिले आफ्नो काम प्रारम्भ गर्छ । त्यस्तै गाउँपालिका स्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्र बन्छ र त्यसले काम गरेर २२ गतेभित्रमा आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा ५ दलको अवस्था कस्तो छ, त्यसको बारेमा केन्द्रलाई विस्तृत रूपले आफ्नो प्रतिवेदन पेस गर्दछ’सभापति श्रेष्ठले भने । गठबन्धनका काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु बिच व्यापक छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लगायतका नेताहरुको सहभागिता रहेको काँग्रेसका प्रवक्ता शोभाकर न्यौपानेले जानकारी दिए ।
काँग्रेस पाल्पाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुँगो लगाउन व्यापक छलफल गरिरहेको छ । काँग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ÷नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ । वडा र पालिका कार्यसमितिबाट भएको सिफारिसकै आधारमा माथिल्लो तहले उम्मेदवारको तय गर्ने हो । काँग्रेसले चैत्र २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ । त्यस्तै, चैत्र २२ गते पालिका तहमा बैठक बस्नेछ । बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ । प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ । वडाध्यक्षसहित वडाका उम्मेदवारको चयन प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले टुंगो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले टुंगो लगाउनेछ । नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले टुंग्याउने विधानले व्यवस्था गरेको छ ।
यसरी विधानअनुसार क्रमशः तल्ला तहबाट माथिल्लो तहमा उम्मेदवारको नाम सिफारिस भइ आउने व्यवस्था छ । जसअनुसार चैत्र २३ गते पालिका तहले प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ भने चैत्र २४ गते प्रदेश क्षेत्रीय कार्यसमितिको बैठक बसेर रायसहित चैत्र २५ गते प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरी पठाउनेछ । वडा, पालिका र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सिफारिस बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले संसदीय समितिमार्फत् वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो लगाउनेछ । त्यस्तै, प्रतिनिधिसभा क्षेत्रीय समितिले चैत्र २६ गते बैठक बसेर आफ्नो क्षेत्रका पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारबारे रायसहित जिल्ला कार्यसमितिलाई लेखी सिफारिस गर्नेछ । जिल्ला कार्यसमितिले चैत्र २८ गते बैठक बस्ने र २९ गते प्रदेश कार्यसमितिलाई सिफारिस गर्ने कांग्रेसको परिपत्रमा उल्लेख छ । त्यस्तै, चैत्र ३० गते सातै प्रदेश कार्यसमितिको बैठक बस्ने र बैशाख १ गते उम्मेदवारको नामावली तय गरी केन्द्रलाई लेखी पठाउन निर्देशन छ ।