गुल्मी, पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आउने चुनावमा धुलो चटाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आउने चुनावबाट ओलीलाई वडा–वडामा, पालिका–पालिकामा धुलो चटाउने दाबी गरे । ‘ओलीकै अंहकारकै कारण दुई तिहाइको सरकार केन्द्रबाट, प्रदेशबाट, निकालियो ।’ केपी ओलीले षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप लगाउँदै नेता नेपालले आफुहरुले विद्रोह गर्नुपरेको बताए ।
उनले एमाले पार्टी आफुहरुले बनाएको तर केपी ओलीले कब्जा गरेको समेत आरोप लगाए । उनले भने ‘नेकपा एमाले बनाउने मूल नेता म हो । केपी ओलीले पार्टी कब्जा मात्रै गरेका हुन् ।’ ओलीले पार्टीमा सम्पूर्ण जीवन लगाएका नेताहरुलाई अपमान गरेको समेत आरोप लगाए ।
उनले केपी सत्ता र शक्तिमा रहँदा निरङकुश प्रवृत्ति देखाएका कारण गठबन्धनकै माध्यमबाट निरङकुश प्रवृत्तिको विरुद्ध लड्ने बताए । संसद भंग गरेर जनताको विश्वास माथि कुठराघात गरेको बताउँदै उनले ओली प्रवृत्ति विरुद्ध विद्रोह गर्नुपरेको उल्लेख गरे । नेता नेपालले पार्टीमा योगदान गरेका नेताहरुलाई मिलेर साथमा लिएर गएको भए अहिलेको अवस्था नआउने स्मरण गराए ।
उनले भने–‘इतिहासमा त्यस्ता पात्रहरू जन्मदो रहेछन् । दक्षिणपन्थी प्रवृत्ति बोक्ने तत्वहरु कम्युनिष्ट पार्टीमा केपी ओलीको नामबाट जन्मिए । उनले अरुलाई अपमान गर्छन् । खिसिटुरी गर्छन् ।’ आफुले गलत कुराको तर्क र तथ्यको आधारमा खण्डन गर्ने बताए ।