हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । आज पनि विभिन्न सचेतनाका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग स्वासप्रश्वासको माध्यमबाट सर्दछ । नेपालमा यो रोगका कारण दैनिक सरदर १२ जना भन्दा बढीको मृत्यु हुने गरेको पाइन्छ, भने वर्षेनी ४३ हजार भन्दा बढी नेपालीमा यो रोगको संक्रमण देखिने गरेको छ । समयमै रोगको पहिचान गरी उपचार गराएमा ८५ प्रतिशत रोग निको हुने चिकित्सक बताउँछन् । तर अझै पनि ९ हजार क्षयरोगी सहज उपचारको पहुँच बाहिर रहेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर बदलिँदो जीवनशैली, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, बढ्दो जनसंख्या तथा वातावरणीय प्रदुषणका कारण यो रोग चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
विश्व स्वास्थ्य संगठनको अगुवाईमा विगत केही वर्षदेखि क्षयरोगका व्यापकता र महत्वलाई जनता सामु उजागर गर्न र सम्पूर्ण सरोकारवालाहरुको ध्यानआकृष्ट गरि कार्यक्रमको प्रभावकारिता बढाउन हरेक वर्ष विश्व क्षयरोग दिवस मनाउँदै आइएको छ । तर यो दिवसले भने सार्थकता पाउन सकिरहेको छैन । वर्षमा एक दिन मात्र क्षयरोग सम्बन्धी विभिन्न संघसस्थाहरुले सचेतनाका कार्यक्रमहरु आयोजना गर्दछन् तर यसले कुनै उपलब्धि हासिल गर्न सकेको छैन । दिवस मनाउनुले त उपलब्धी हाँसिल गर्न सक्नुपर्छ । तथ्यांकमा फरक पार्न सक्नुपर्छ । क्षयरोग कुनै पनि वर्ग, उमेर समूह, धर्म, लिङ्ग, समाज, भूगोलमा बस्ने मानिसलाई लाग्न सक्ने सरुवा रोग हो । समयमै पहिचान र उपचार भएन भने यसलाई गम्भीर प्रकृतिको रोगका रूपमा पनि लिइन्छ । त्यसैले सबै सजग, सचेत र सावधान हुन जरुरी छ । सरकारले जिम्मेवारीपूर्वक कार्ययोजना बनाएर तदारुकताका साथ कार्यान्वयन पक्षमा लाग्न जरुरी छ । यसका अभियन्ता, समाजका हरेक समूह र व्यक्तिहरूले पनि जहाँबाट जुन किसिमले सकिन्छ, यस रोगलाई न्यूनीकरण गर्दै निर्मूल गर्नमा हातेमालो गर्न सकेमात्र दिवसको सान्दर्भिकता झल्किन्छ ।