पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । उपचार पद्दति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्दतिको महत्व झन् बढेको छ । आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको हो । प्रकृतिप्रदत्त जडीबुटी, रुखविरुवा तथा खनिज अनि अनेक रसको अनुपात मिलाएर आयुर्वेदिक औषधि निर्माण गरिने आयुर्वेद दर्शनले उल्लेख गर्छ । यसरी अनेक तत्व मिलाएको हुनाले पनि यसको आधुनिक औषधिजस्ता विकृत प्रभाव आयुर्वेद औषधिमा निकै कम हुन्छन् । त्यसैले पनि यो आयुर्वेद ज्ञानमा आधारित औषधि मानव स्वास्थ्यका लागि अब्बल उपचार विधि मानिँदै आएको हो ।
नेपाल भूगोल जडीबुटीको खानी नै हो । देशका हरेक ठाउँ वनस्पतिक सम्पदाले भरिपूर्ण रहेको छ । परापूर्व कालदेखि नै आयुर्वेदको अभ्यास गरिएको क्षेत्र मानिने नेपाल जस्तो भूमिमा आयुर्वेदिक उपचार विधिको निकै प्रचार प्रसार तथा विस्तार हुनु सकारात्मक विषय हो । तर यसले जुन रुपमा गति लिनुपर्ने हो त्यस्तो गति भने लिएको देखिदैन । मुलुकमा आयुर्वेदिक उपचार विधि क्रमशः कमजोर हुँदै गएको छ । परम्परागत ज्ञान, सीप र अनुवभव विस्तारै लोप हुने अवस्था छन् । आयुर्वेदको संस्थागत उपस्थिति पनि बलियो छैन । भएको संस्था प्रभावकारी हुन सकिरहेको देखिँदैन । वर्तमानमा आयुर्वेद उपचार सबैको आकर्षण बन्ने गरे पनि यसको उपस्थिती बलियो नदेखिनु दुखद् हो । यस उपचार विधिप्रति सरोकारवाला पक्षबाट उपयुक्त ध्यान नदिइएकै कारण मुलुकले आधुनिक औषधि आयातमा बर्सेनि करोडौँ रुपैयाँ खर्चिरहनु परेको छ । तसर्थ आयुर्वेदको विकास एवं विस्तारका लागि सरकारले सुदृढ नीति ल्याउन जरुरी छ ।