Shittalpati
जनताको समृद्धिका लागि काँग्रेसलाई मतदान : सभापति पन्थी

गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले विकास र जनताको समृद्धिका लागि आगामी निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका –७, वाग्लामा वडा कार्यसमितिको आयोजनामा पार्टी कार्यालय उद्घाटन तथा विभिन्न भातृ संस्था गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पन्थीले विकास र जनताको समृद्धिका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन् । उनले नेपालका कम्युनिष्टहरु देशको विकास र समृद्धि बनाउन भन्दा पनि यहाँका जनतालाई भ्रममा पार्ने काम उद्धत देखिएको आरोप लगाए । उनले भने ‘यहाँका कम्युनिष्टहरु काम भन्दा पनि गफ बढी गर्ने भएकाले आगामी निर्वाचनमा सबै नेता तथा कार्यकर्ताहरु एकढिक्का भएर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनतर्फ लाग्नुहोस् ।’

नेपाली काँग्रेसका जिल्ला उप–सभापति शिबबहादुर खत्री, महासमिति सदस्य छन्द बहादुर पहराई, महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारी, जिल्ला सदस्य सुनिता जिसी कुँवर, चक्रसुन्दर घर्ति मगर, धुर्कोट गाउँपालिका कार्य समिति सभापति हरि बहादुर थापा, वडा कार्य समितिका पूर्व सभापति मधुराम पन्थी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

त्यस्तै यादव घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नेपाल तरुण दल, रेशम विकको अध्यक्षतामा १० सदस्यीय नेपाल दलित संघ र बिमला पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नेपाल महिला संघ पनि गठन गरिएको छ । वडा सभापति हरि भट्टराईको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन तीर्थ घिमिरेले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update