नेपाली बजारमा यतिबेला खाद्यान्नदेखि इन्धनको मूल्य अचाक्ली वृद्धि भएको छ । रुस र युक्रेनमा भएको द्धन्द्धको मौका छोपी व्यापारीहरुले हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि गरेका छन् । व्यापारीले समानको अभाव भएको भन्दै मूल्य बढाएका छन् । यसले गर्दा मजदुरी गरेर जीविका चलाउने विपन्न समुदाय बढी मारमा परेको छ । भाउ नबढेको कुनै सामान छैन । रुसले युक्रेनमाथि गरेको हमलाका कारण यो सबै हुन गएको भन्दै हवाला दिने गरिएको छ ।
व्यापरीले मनपरी मूल्य वृद्धि गर्नु सरासर गलत हो । यति मात्र होइन, अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि कुनै पनि पहल गरिएको छैन । तर, बजारमा भने व्यापारी तथा बिचौलियाले मनपरी गरिरहेका छन् । सरकार आमनागरिकको अभिभावक हो । तर अचाक्ली मूल्य वृद्धि भई जनताको चुलो समेत बन्द हुन लागेको अवस्थामा सरकार मौन बस्नु दुखद् हो । व्यपारीहरुले रुस र युक्रेनमा भएको हवाला दिदै दैनिक उपभोग्य वस्तु दाल, चामल, खानेतेल, पेट्रोलियम पदार्थ, सिमेन्ट, छड, पेन्ट, पाइपआदिमा मनलाग्दी मूल्य बढाइरहेका छन् । यो मूल्यवृद्धि देशमा हालसम्म भएको इतिहासमै सबैभन्दा बढी भएको उपभोक्ता तथा अधिकारकर्मीको दाबी छ । उता सर्वसाधरण उपभोक्ता अबका दिनमा कसरी दिन कटाउने भनी टाउको छाम्न थालेका छन् । बजारमा भने उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना हुँदै गइरहेको छ । अहिले पेट्रोलियममा भएको मूल्यवृद्धिको असर यत्रतत्र सर्वत्र परिसकेको छ । हरेक वस्तुको भाउ बढाइएको छ । महामारीका कारण जनताको आम्दानी घटिरहेका बेला जीवन यापन लागत भने बढ्दै गइरहेको छ । नागरिकप्रति कुनै संवेदना र जिम्मेवारी नै नभएको सरकारले भाउ समायोजन गर्ने नाममा पेट्रोलमा मूल्य वृद्धि एकमात्र उपाय हो भन्दै आइरहेको छ । इन्धनको मूल्यवृद्धिले उपभोक्ताको चुलोचौकोदेखि विकास निर्माणका कामलाई समेत प्रभावित पार्दै लगेको छ । जनतालाई राहत दिनुपर्ने ठाउँमा सरकारले पेट्रोलियम पदार्थबाट कर मात्र असुल्न केन्द्रीत भएकाले आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । तसर्थ विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सरकारले मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ तदारुकता देखाउन जरुरी छ ।