Shittalpati
प्राथमिक उपचार जान्न आवश्यक

प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो । अर्को अर्थमा भन्दा कुनै व्यक्तिलाई चोटपटक लागेपछि वा ऊ बिरामी भएपछि अस्पताल पुर्‍याउनुअघि गरिने सबैभन्दा सुरुको उपचार पद्दतिलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटना, चोटपटक, आगलागी, प्राकृतिक विपत्ति वा अचानक स्वास्थ्य समस्या—यस्ता घटना कहिले र कहाँ हुन्छन् भन्ने निश्चित हुँदैन् । आपत्कालीन अवस्थामा अस्पताल वा स्वास्थ्य संस्था पुग्न समय लाग्न सक्छ । त्यस्तो अवस्थामा घाइते वा बिरामीलाई दिइने प्रारम्भिक सहयोग अर्थात् प्राथमिक उपचारले जीवन बचाउन र अवस्था थप जटिल हुन नदिन महत्वपूर्ण भूमिका खेल्छ ।

त्यसैले प्राथमिक उपचारलाई केवल स्वास्थ्यकर्मीको विषयका रूपमा सीमित नगरी प्रत्येक नागरिकको आधारभूत सीपका रूपमा विकास गर्न आवश्यक छ । प्राथमिक उपचारको उद्देश्य चिकित्सकको उपचारलाई प्रतिस्थापन गर्नु होइन, बरु स्वास्थ्यकर्मीको सहायता प्राप्त नहुँदासम्म घाइतेको अवस्था स्थिर राख्नु हो । रक्तस्राव रोक्ने, बेहोस व्यक्तिको श्वासप्रश्वास जाँच गर्ने, सामान्य चोटमा उचित उपचार गर्ने, जलनमा तत्काल आवश्यक कदम चाल्ने वा आपत्कालीन अवस्थामा सही ढंगले सहयोग गर्ने जस्ता सामान्य ज्ञानले पनि अमूल्य जीवन जोगाउन सक्छ । तर गलत तरिकाले गरिएको प्राथमिक उपचारले फाइदाभन्दा बढी क्षति पुर्‍याउन सक्ने भएकाले सही ज्ञान र अभ्यास उत्तिकै महत्वपूर्ण हुन्छ । प्राथमिक उपचार बारेमा सचेतना र ज्ञान प्रदान गर्न हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ । नेपालमा पनि हरेक वर्ष सयौं जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् ।

दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो भने पनि उसको ज्यान जोगिने सम्भावना बढेर जान्छ । सानादेखि ठूलासम्मका दुर्घटनामा घाइते हुन पुगेकालाई प्राथमिक उपचार दिने हो भने उसको ज्यान जोगाउन पनि सहज हुन्छ । प्राकृतिक विपत्तिदेखि दुर्घटनाको अवस्थामा मानिसहरू निकै आत्तिने, र जसोतसो अस्पताल पुर्‍याउन हतारो गर्दछन् । यस्तो प्रवृत्तिले कतिपय अवस्थामा विरामीको ज्यानै जानेदेखि उपचार प्रक्रिया निकै जटिल पनि हुन सक्दछ । त्यसको बदलामा घटनास्थलमा उपलब्ध मानिसले घटनास्थल र विरामीको राम्रो मूल्यांकन गरी जति सक्दो छिटो प्राथमिक उपचार दिनुपर्दछ ।  त्यसैले प्राथमिक उपचार दिवसलाई औपचारिक कार्यक्रम र नारामा मात्र सीमित नराखी प्रत्येक नागरिकलाई आधारभूत प्राथमिक उपचार सिकाउने अभियानका रूपमा अघि बढाउनुपर्छ । जीवन बचाउने अवसर धेरैपटक अस्पताल पुग्नुअघि नै आउँछ । त्यस अवसरलाई सदुपयोग गर्न प्रत्येक नागरिक प्राथमिक उपचारमा दक्ष बन्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update