देश निर्वाचनतर्फ धकेलिएको छ । आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा गरिसकेको छ । त्यसक्रममा निर्वाचन आयोगले तयारीका प्रक्रियाहरूलाई तीव्रता साथ अगाडि बढाइरहेको छ । राजनीतिक दलहरुले पनि आ–आफ्नो प्रचार–प्रसारलाई तिव्रता दिएका छन् । उनीहरुले प्रचार–प्रसारलाई तिव्रता दिएपनि आफ्ना वास्तविक धारणाहरु भने जनतासामु प्रष्ट रुपमा राख्न सकिरहेका छैनन् । दलसँग न त घोषणापत्र छन्, न त योजना र कार्यक्रम नै । तर, उनीहरु जनताको घरदैलोमा भने पुगी सकेका छन् । बिना योजना र कार्यक्रम जनताको घरदैलोमा पुगेर कुनै अर्थ रहँदैन । विगतका निर्वाचनबाट जनताले पाठ सिकिसकेका छन् । उनीहरु अहिले निकै नै चनाखो भएकाले राजनीतिक दलहरुले प्रष्ट धारणा बनाएर मात्र जानुपर्छ । जनतासामु पुगेर एकअर्का दल र तिनका नेताविरुद्ध चरित्र हत्या गर्ने र आफूलाई राम्रो देखाउने प्रतिस्पर्धा गर्नु भनेको आफै बेकुब बन्नु हो ।
अहिले राजनीतिक दलका नेताहरु जनतासामु बेकुब बनिरहेका छन् । उनीहरुसँग योजना, कार्यक्रम र कुनै धारणा नै छैन् । यस्तो अवस्थामा बेकुब बन्नु बाहेक अरु केही हुँदैन । राजनीतिक दलका विचारविहीन गालीगलौजका अभिव्यक्ति जनतामाँझमा पाच्य हुन सक्दैन । जनताले नेताको विचार र कार्यक्रम विहीन अभिव्यक्तिको खुलेर आलोचना गर्न थालिसकेका छन् । राजनीतिक पार्टी र नेतासँग अबको देश, समाज तथा आर्थिक जनजीवन कस्तो हुने र कता लैजाने भन्ने सोच जनताले अपेक्षा गरेको देखिन्छ । तर, विडम्बना, राजनीतिक दल र दलका नेता भने एक अर्कालाई गालीगलौज गर्ने, हिलो छ्याप्ने र उछित्तो काढ्ने काममा लागिरहेका छन् । यो आफैमा दखद् हो । जनताले स्पष्ट भिजनसहितको विकासको खाका खोजिरहेका छन् । उनीहरुले सहभागितामूलक विकास र उन्नतिको इच्छा राखिरहेका छन् तर, राजनीतिक दल र यसका नेता भने एमसीसीका कुरा झिकेर एकअर्कालाई कालो पोतिदिने र आफू गोरो भएको देखाउने मिथ्या पर्यत्नमा लागिरहेका छन् । तसर्थ साच्चिकै जनताको मन जितेर मत ल्याउने हो भने स्पष्ट धारण सहित योजना र कार्यक्रम लिएर जनतासामु जानु नै अहिलेको अपरिहार्य आवश्यकता हो ।