Shittalpati
काँग्रेस पाल्पाले सम्झियो सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई

पाल्पा, नेपाली काँग्रेस पाल्पाले सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुलाई सम्झिएको छ । उसले देशमा लोकतान्त्रिक व्यवस्था ल्याउनमा अहम भूमिका खेलेका सेवा निवृत्त कर्मचारीहरुलाई पार्टी कार्यालयमा राखेर अन्तक्र्रियासँगै छलफल गराई उनीहरुको योगदानको कदर गर्दै सम्झिएको हो । काँग्रेसले सेवा निवृत्त कर्मचारीहरुको वर्तमान अवस्थामा अत्यन्त महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरुसँग बसेर अन्तक्र्रिया तथा छलफल गरेको जनाएको छ ।

छलफल कार्यक्रमममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रमुख अतिथि राजनप्रसाद पन्तले मुलुकमा लोकतान्त्रिक व्यवस्था ल्याउन सेवा निवृत्त कर्मचारीहरुको योगदान महत्वपूर्ण रहेको बताए । उनले वर्तमान अवस्थामा कम्युनिष्टका कारण लोकतन्त्र नै संकटमा पर्न थालेकाले अब त्यसको संरक्षण गर्ने दायित्व निवृत्त कर्मचारीको समेत रहेको धारणा व्यक्त गरे । नेता पन्तले भने ‘देशमा संविधान र लोकतन्त्र कमजोर बन्दै गएको छ त्यसलाई बलियो बनाउन अब सेवा निवृत्त कर्मचारीहरु लाग्नुहोस् ।’ मुलुकको लोकतन्त्र र संविधान कम्युनिष्टहरुबाट खतरा रहेकाले त्यसलाई जोगाउन र बलियो बनाउन काँग्रेसले बहुमत ल्याउनु आवश्यक रहेको औल्याए । काँग्रेसलाई आउने तीनै तहका निर्वाचनमा जिताउन सेवा निवृत्त कर्मचारीहरुलाई नेता पन्तले आग्रह गरे ।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विगतमा लोकतन्त्र ल्याउन राष्ट्रसेवक कर्मचारीहरुको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै अब लोकतन्त्रको संस्थागत विकासमा लाग्न सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई आग्रह गरे । उनले भने ‘सेवा निवृत्त पछिको समय सामाजिक सेवामा लगाउनुहोस्, लोकतन्त्रलाई बचाउन र जिवन्त राख्न अब तहगत संरचनादेखि नै काँग्रेसलाई बलियो बनाउनुहोस् ।’ सभापति श्रेष्ठले काँग्रेसका संरचनागत तहमा रहेर पार्टीलाई बलियो बनाउन अभिभाकत्व ग्रहण गर्न सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति देवराज ढकाल, काँग्रेस लुम्बिनी प्रदेशका सदस्य रोमश्वर पन्थी,काँग्रेसका वरिष्ठ नेता राजेन्द्र गोपाल सिंह, पूर्व पार्टी सचिव माधव नेपाल, महासमिति सदस्य तथा पूर्व डिआइजी राम कार्की लगायतले राष्ट्र सेवक कर्मचारीको योगदानको चर्चा गरेका थिए । छलफलमा सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुले काँग्रेसले आफुहरुलाई सम्झिएकोमा उत्साहित भएका थिए । उनीहरुले सामाजिक सेवामा लाग्न आफुहरुलाई थप उत्साह थपिएको बताएका छन् । सोही अवसरमा काँग्रेसले सेवा निवृत्त भएका जेष्ठ राष्ट्रसेवक कर्मचारी भिमबहादुर सारुलाई सम्मान समेत गरेको छ । पार्टी सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, लक्ष्मण बस्यालको स्वागत, पार्टी प्रवक्ता शोभाखर न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update