विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर आज मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् । विश्व उपभोक्ता अधिकार दिवस वर्षेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था छ । सो व्यवस्थामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ । साथै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक पनि संविधानमा सुनिश्चित गरिएको छ । तर कानुनले उपभोक्ता अधिकार सुनिश्चित गरे पनि यसको कार्यान्वयन पक्ष भने फितलो छ । कानुन कार्यान्वयन नहुँदा नेपाली उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । राज्य, बजार र उपभोक्ता तीनै पक्ष जिम्मेवार नहुँदा उपभोक्ता अधिकार कमजोर बनेको छ ।
उपभोक्ता संरक्षण ऐन तथा उपभोक्ता सम्बन्धी अन्य विशेष कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था विगतदेखि नै अत्यन्त कमजोर रहँदै आएको हो । कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही, सिन्डिकेट तथा कार्टेलिङमा बन्देज कार्यान्वयन सन्तोषजनक देखिँदैन । सार्वजनिक सेवा सम्बन्धमा सेवाग्राहीका गुनासा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था भएपनि सार्वजनिक सेवा प्रवाहमा जवाफदेही, पारदर्शी, सहभागितामूलक र उत्तरदायी हुन नसक्दा उपभोक्ता अधिकार संरक्षण हुन सकेको छैन । त्यसैले संविधान तथा कानुनले व्यवस्था गरेका उपभोक्ता अधिकार संरक्षण गर्न तत्काल तीनै तहको सरकार तथा त्यसअन्तर्गतका नियमक निकायमा आवश्यक संयन्त्र निर्माण गरिनुपर्छ । यी संयन्त्रमार्फत उपभोक्ता कानुनको प्रभावकारी कार्यान्वयन र दोषीमाथि कडा कारबाही गरी स्वच्छ बजार प्रवद्र्धन गर्दै उपभोक्ता अधिकार संरक्षण गर्नुपर्छ, नभए उपभोक्ता अधिकारको सुनिश्चितता गर्नुको अर्थ नारामा मात्रै सीमित हुनेछ ।