निर्वाचनको घोषित मिति आउन ६२ दिन मात्र बाँकी छ । आयोग विस्तारै आचार–संहिता लागू गर्ने सुरसारमा छ । तर, केन्द्रमा दलहरूको तताइ सुस्त नै देखिन्छ । सत्तारुढ घटकहरू नै अलि लुम्सो पारामा छन् । उनीहरु आफै भित्र अलमलिएका छन् । त्यही पाराका कारण स्थानीय निर्वाचन हुने नहुनेमा शंका/आशंका बढाएको छ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेस आफैंमा निर्वाचनका लागि स्पष्ट विचार बनाउन नसक्दा यसले गठबन्धनमा अन्योलता सिर्जना गरेको छ । मिलेनियाच्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि नेपाली काँग्रेसमा उत्साह आए पनि उसैको नेतृत्वमा रहेका तीन वटा दलमा भने निराशा छाएको छ । नेपाली काँग्रेस एक्लै चुनावमा जाने कि गठबन्धलाई लिएर अघि बढ्ने भन्नेमा अलमलमा देखिएको छ । विशेषतः गठबन्धन सहित अघि बढ्न नेकपा एकीकृत समाजवादीको बाध्यता बनिरहँदा प्रमुख दल काँग्रेसभित्रै दुई मत देखिएको छ ।
काँग्रेस निर्वाचन लक्षित गरी अघि बढीसकेको छ । यहि कदम स्वरुप काँग्रेसले ‘घर–घर जाऊ, काँग्रेस जिताऊ’ भन्ने एक महिने अभियान सञ्चालन गर्न लागेको छ । यो अभियानलाई काँग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ । तर आगामी निर्वाचनमा एक्लै जाने कि गठबन्धन सहित जाने भन्ने विषयमा भने काँग्रेसले संस्थागत निर्णय गर्न सकेको छैन । काँग्रेस भित्रकै केही नेताहरु कसैलाई बोकेर हिड्न नसकिने बताइरहेका छन् भने केहि नेतालाई भने गठबन्धन आवश्यक देखिएको छ । विगतमा आफ्नो क्षेत्रमा चुनाव हारेका नेताहरु भने गठबन्धन नबने यसअघि कै प्रतिस्पर्धीसँग हारिने डरमा छन् । गठबन्धन फुट्ने डर एकीकृत समाजवादीमा पनि देखिएको छ । गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास भएपनि तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेको उसको बुझाई छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुका कारण सत्ताको सिंहासनमा पुगेको काँग्रेसले जथाभावी बोल्नु अनुचित रहेको बताउनुले पनि गठबन्धन धरापमा पर्न लागेको हो कि भने शंका गर्न सकिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने पाँच दलीय गठबन्धनको योजनामा काँग्रेस बाधक बन्ने देखिएपछि सत्तारूढ दलबीच नै अविश्वास पैदा हुनु पक्कै राम्रो होइन । अहिलेको आवश्यकता के हो ? मुलुकलाई कसरी अगाडि बढाउनुपर्दछ भन्नेतर्फ सत्ता गठबन्धनको ध्यान जानुपर्दछ ।