विकास परिवर्तनको सकारात्मक सूचक हो । विकासले नै सम्बन्धित क्षेत्रका नागरिकहरुको अवस्थालाई प्रष्ट रुपमा चित्रित गर्दछ । नेपालमा विकासका अभ्यासलाई हेर्ने हो भने दुई धारमा देखिन्छ । सकरात्मक विकास र नकारात्मक विकास । जहाँ सकरात्मक विकास भएको छ त्यहाँ स्वभाविक रुपमा जनता सम्पन्न र खुसी छन् । तर नकारात्मक रुप भएका विकासमा भने जनता दुःखी र पीडित छन् । पछिल्लो समय नेपालमा विकासको गलत अभ्यास हुँदै गएको छ । जसका कारण देशमा विकास होइन विनास सिर्जना भएको कुरा छिप्न सक्दैन । विकासका नाममा अनावश्यक बजेटको हिनामिना गर्ने र त्यसले समयमै प्रतिफल नदिने रोग नेपालमा हुर्कंदै गएको छ । नचाहिने र अनावश्यक ठाउँमा विकासका नाममा ठूलो लगानी भैरहेको छ भने चाहिने र आवश्यक ठाउँले विकासको मुखै देख्न नसकेको स्थिति छ ।
विकासलाई प्राथमिकता दिने भन्दै जथाभावी रुपमा बजेटको ठूलो रकम स्वाहा हुने गरेको छ । यो प्रवृत्ति आफैमा गलत हो । जनताले गाउँ, सहरको विकास गर्न निर्वाचनमा मतदान गरेर पठाएका जनप्रतिनिधि नै विकासका बाधक बनेका छन् । जनताको आवश्यकता भन्दा पनि व्यक्तिगत स्वार्थ र राजनीतिक लाभका रुपमा विकासको अभ्यास अगाडि बढेको छ । विकास पूर्वाधारहरुको नाममा गाउँ–गाउँमा रहेका खेतीयोग्य जग्गा मास्दै ठूला–ठूला सडक बनाउने अभियान पछिल्लो समयमा देखिँदै गएको कुरुप विकासको नमुना हो । विकास पूर्वाधारलाई बढवा दिने नाममा गाउँ–गाउँमा चार लेनसम्मका ठूला–ठूला सडकहरु देखिन थालेको अवस्थाले विकासको मोडल अहिले कता जाँदैछ ? भन्ने गम्भीर सवालसमेत यतिखेर उत्पन्न हुन थालेको छ । गाउँ–गाउँमा सडकको सुविधा पुग्नु नराम्रो होइन, तर विकास पूर्वाधारका नाममा खेतीयोग्य जमिन मास्दै ठूला–ठूला सडकहरुमा अरबौँको लगानी खर्चिनु विकासको सकारात्मक सूचक भने होइन । सवारीको बाक्लो आवत–जावत हुने सहरी क्षेत्रमा जस्तो ठूला ठूला सडक गाउँमा निर्माण गर्नु स्वभानिय हुन सक्दैन । गाउँ घर सवारीसाधनहरुको चहलपहल कम हुने क्षेत्रहरु हुन । यि क्षेत्रमा पक्की बाटोले मात्रै काम चल्न सक्छ । तर यहाँ चार लेनसम्मका बाटाहरुमा बजेट खर्चिनु गतल हो । यसर्थ विकासका नाममा गलत तरिकारले बजेट खर्चिनु हुन्न । बजेट सोही काममा, सोही ठाउँमा खर्च गर्न सकियो भने मात्र विकासले गति लिने र त्यसको सार्थकता सावित हुन सक्छ ।