
पाल्पा, हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस आज विविध कार्यक्रम गरी मनाउन लागिएको हो । नारी आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउन थालिएको हो ।
मंगलबार लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको छ । महिला अधिकारको मुद्दा उठ्न थालेको समय भइसक्दा समेत अझै पनि महिला र पुरुषबीचको खाडल ठूलो छ । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । कानुन पर्याप्त भए पनि कार्यान्वयन गर्ने निकाय महिलाप्रति सकारात्मक नहुँदा समस्या भएको कानुनविदहरु बताउँछन् । नेपालको संविधानमा महिलाको मौलिक हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । संघ, प्रदेश र पालिकामा प्रतिनिधित्व सहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।