Shittalpati
निकालियो हृषिकेशको रथयात्रा

पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा भगवान ह्षिकेशको  रथयात्रा निकालिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा हरेक वर्ष  कात्तिक शुक्ल पक्ष हरिवोधनी एकादशीको अर्काे दिन  द्धादशीको दिन निकालिने  हृषिकेश रथयात्रा यस वर्ष शनिबार निकालिएको हो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट तीर्थयात्री, साधु–सन्त र भक्तजनहरू त्यहाँ पुगेका थिए । रुरु क्षेत्रधामस्थित हृषिकेश मन्दिर परिसरबाट शुरु भएको रथयात्रा गुल्मीको रिडी बजार, हृषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई  भगवानको दर्शन पुजाआजा गरिएको पुजारी विवेक भट्टराईले बताए ।  वैदिक मन्त्रोच्चारण, धार्मिक भजन–कीर्तन र पण्डितहरूको पूजापाठ सहित  रथयात्रा  गरिएको हो । भक्तजनहरूले भगवान ह्षिकेशको रथ बोकेर  रुरु क्षेत्र परिक्रमा गरे । रथयात्रामा स्थानीयवासीले भगवानप्रति फूलमाला, धूप–दिप र प्रसाद  चढाएका थिए ।  

रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’ मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्व विष्णु भगवानको अवतार हृषिकेशसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान हृषिकेशको दर्शन गरे पापकर्महरू नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ह्षिकेश मन्दिर व्यबस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए  । यही कारणले यहाँ वर्षभरि तीर्थयात्रीहरूको आगमन हुने गरेको छ । विशेषगरी माघे संक्रान्ति र हृषिकेश रथयात्राका अवसरमा त हजारौंको संख्यामा भक्तजन यहाँ जम्मा हुने गर्छन् ।

हालका वर्षहरूमा रुरु क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न संघसंस्थाले पहल गरेका छन् । मन्दिर पुनःनिर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरु क्षेत्र अहिले आन्तरिक पर्यटकहरूको पनि आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताए । रथयात्राका क्रममा धार्मिक कार्यक्रमसँगै सांस्कृतिक प्रस्तुति, भजन–कीर्तन प्रतियोगिता र पारम्परिक वाद्यवादनको प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा र समुदायका वरिष्ठ नागरिकहरूले रुरु क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे व्यक्तिहरुको सहभागिता रहेको थियो ।

हर्षोल्लास र आस्थाले भरिएको हृषिकेश रथयात्रा सम्पन्न भएपछि भक्तजनहरूले मन्दिरमा पूजा–आराधना गरी प्रसाद ग्रहण गरेका थिए । रुरु क्षेत्रधामको यो रथयात्रा केवल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतिकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । ह्षिकेशव भगवानको रथयात्राको लागि तानसेन नगरपालिकाले स्थानीय विदा दिएको थियो । रथयात्रामा प्रदेश सासंद विर बहादुर राना, प्रदेश मुख्य सचिव बाबुराम अधिकारी, पाल्पा, गुल्मी, स्याङ्जाका जनप्रतिनिधी, नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरीहरुको सहभागिता रहेको थियो । नेपाली सेनाको सलामी अर्पण सहित रथयात्रा निकालिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update