Shittalpati
नारी दिवस मनाउनुको सार्थकता

आज ‘मार्च ८’लाई संसारभरी अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिन विभिन्न कार्यक्रम गरी मनाइन्छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ, त्यो विगतमा निरंकुश राणाशासनको समयमा होस् वा पञ्चायती कालखण्डमा सहज थिएन । अहिले दिवसका दिन महिला अधिकारका कुराहरु उठ्ने गर्दछन् । वर्षेनी नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । एउटा घरमा, एउटा समाजमा वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गर्दा महिला बिनाको संसार निरास जस्तै हुन्छ । त्यसैले महिलाको प्रगति भनेको त्यो घर, समाज र राष्ट्रको प्रगति हो । तर महिलालाई अहिले त्यो रुपमा हेरिदैन । यो आफैमा दुखद् छ ।

अझै पनि ग्रामीण तथा दुर्गमका महिला हिंसामा छन् । उनीहरुलाई आफ्नो अधिकार र हकका विषयमा समेत थाहा छैन । उनीहरुलाई नारी दिवस के हो ? नारी दिवस के का लागि मनाइन्छ भन्ने समेत थाहा छैन । नारी र पुरुष एक रथका दुई पाँग्रा हुन् भने पनि दुई पाँग्रालाई समान रुपमा अगाडि बढाउन सकिएको छैन । आखिर पुरुष पुरुष नै र महिला महिला नै हुन्छन् । नेपाली नारी हरेक कोणबाट पीडित छन् । चाहे त्यो घरभित्र हुने हिंसा होस् अथवा समाजबाट हुने हिंसा होस् । आखिर नारी दिवस मनाएर मात्र नारीको पहिचान र अधिकार प्राप्त हुन सक्दैन । महिलाहरुको हक अधिकारका लागि उनीहरुलाई सचेत गराउन सक्नुपर्छ । अब महिला अधिकारको कुरा नारी दिवसका अवसरमा एकदिन चर्चा गर्ने मात्र होइन, संविधान र कानुनले दिएको अधिकारको पूर्ण कार्यान्वयनका लागि डट्न सक्नुपर्छ । विद्यमान संवैधानिक अभ्यासमार्फत त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । त्यसो भयो भने मात्रै नारी दिवस मनाउनुको सार्थकता रहनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update