Shittalpati
गर्मी मौसममा सचेत रहौं

गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । फागुनको तेस्रो साता लागिसकेको छ । फागुनको अन्तिम सातादेखि चैत, बैशाख, जेठ यो समय भनेको गर्मी मौसम हुने समय पनि हो । यो मौसममा पानीको मुहान सुक्दै गएर कम हुने, झाडापखाला, हैजाजस्ता रोग फैलने सम्भावना पनि बढी हुन्छ । यस मौसममा स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विषय पनि महत्वपूर्ण छ । सरसफाइको लागि पानीको कमी हुने, धुँवा, धुलो प्रदुषण बढी हुनेजस्ता कारणले पनि रोग फैलने गर्छ । यसतर्फ सचेत हुनुपर्छ । त्यति मात्र होइन यतिबेला हुरीबतास समेत चल्न थालेको छ ।

खासगरी यस मौसममा आगलागीका घटना पनि बढी हुने गर्छन् । सामान्य हेलचेक्र्याइँ र असावधानीका कारण आगलागीका घटना घट्ने गर्दछन् । सानो कुरामा सतर्कता नअपनाउँदा क्षणभरमै ठूलो जनधनको क्षति हुने गरेको छ । आगलागीका घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने पूर्व तयारी नहँुदा वर्षेनी ठूलो क्षति व्यहोरिरहनुपरेको छ । सानो असावधानीले करोडौंको धनमाल नष्ट हुन्छ । आगलागीका घटना हुन नदिन र जोखिम कम गर्न सरकारी, निजी क्षेत्र तथा समुदायले अनवरत प्रयत्न गर्नु आवश्यक छ । तर अहिले सम्म कोही कतैबाट आगलागीका घटना हुन नदिन पूर्व तयारी गर्ने गरेको देखिदैन यो अत्यन्त दुखद् हो । हाम्रो देशमा आगलागीका कारण जनधनको क्षति भएको खबर आउन थालेपछि मात्र न्यूनीकरणको उपायबारे चर्चा हुने गर्छ । यो गलत हो । पूर्व तयारी भए आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । तर, लागलागीका घटना घटिसकेपछि मात्र रोकथामको चर्चा हुने र गर्मी मौसम सकिनसाथ यो चर्चा सेलाउने गरेका कारण वर्षेनी आगलागीका घटनाबाट हामीले ठूलो जनधनको क्षति व्यहोरिरहनु परेको छ । यसर्थ आगलागीका घटनाको न्यूनिकरण गर्न र त्यसबाट हुने क्षति कम गर्नतर्फ सबै सचेत हुनैपर्छ ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update