मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । विश्वव्यापी रुपमा मातृभाषाको महत्वलाई बुझाउँदै यसको संरक्षणको लागि २१ फेब्रुअरी २००२ देखि मातृभाषा दिवस मनाउन थालिएको हो । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ । भाषा लोप हुँदा यसको सांस्कृतिक र बौद्धिक धरोहरको समेत अवशान हुन्छ । भाषाको मृत्युसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण सांस्कृतिक र भाषिक विविधता लोप हुन्छ । भाषिक विविधताले नवीन सोचाइ र यसले संसारलाई हेर्ने नवीन दृष्टिकोणसमेत बोकेको हुन्छ । भाषिक विविधता आफैंमा वैज्ञानिक खोज–अनुसन्धानको विषय हो । तर पछिल्लो समय मातृभाष संकटको अवस्थामा पुगेको छ । यो अत्यन्तै दुखको कुरा हो । सरकारी नीतिका कारण आज नेपाली भाषा बाहेक अरु भाषाहरु लोपोन्मुख अवस्थामा पुगेका छन् ।
विगत देखि हालसम्म सरकारी तहमा नेपाली नजाने जागिर पाइदैन भनेर अरु भाषाको प्रयोगलाई अप्रतक्ष्य रुपमा बन्देज लगाएको अवस्था थियो । त्यसकारण अरु भाषाहरुले मौलाउने अवसर पाएन । हिजोको राज्यको नीति र त्यसले निर्माण गरेको मनोविज्ञानले नेपाली बाहेक अरु भाषाहरु लोपोन्मुख भाषा भए । त्यसरी नै आजको पुस्तालाई अंग्रेजी नजाने जागिर पाइदैन, ठूलो मान्छे होइदैन भन्ने मानसिकताको मनोविज्ञान विकास गरिदैछ । यो दृष्टिकोणले भाषिक हैकमवादी नीतिको पृष्ठपोषण गर्दछ । अझैसम्म नेपालमा सयौं भाषाहरु व्यवहारमा बोलचालमा प्रयोग भइरहेका छन् तसर्थ यी भाषाहरुलाई बचाउन सरकारी तहबाट केहि सकारात्मक कदम चाल्नु आवश्यक देखिन्छ । भाषाको प्राण भनेको उसको प्रयोगमा छ । व्यवहारमा यो देश बहुभाषिक भएको हुनाले शिक्षण र सरकारी कामकाजमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्दछ । जबसम्म बहुभाषिक नीति अबलम्वन गरिदैन तबसम्म नेपालमा बोलिने कुनै पनि मातृभाषाहरु बाच्ने स्थिति छैन । मातृभाषाको संरक्षण र संवद्र्धन गर्नको लागि शिक्षणको आधारभूत तहदेखि नै त्रिभाषिक नीति अवलम्बन गर्नु पर्दछ । आज सयौंको संख्यामा यूरोपियन, अमेरिकनहरु नेपालको भाषा खोज्दै, सिक्दै उच्च शिक्षा हाँसिल गरेर विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयका प्राध्यापक, अन्वेशषक, अनुसन्धाता बनेका छन् भने हामी किन त्यस्तो नहुने भन्ने कुरालाई राज्यले सोच्ने हो भने हाम्रो सबै भाषाहरु बाच्नेछन् र भाषिक समस्यालाई समय मै निराकारण गर्न सकिन्छ । यसर्थ त्यसो गर्न सकियो भने मात्र मातृभाषा दिवस मनाउनुको सार्थकता रहने छ ।