Shittalpati
स्वस्थानीको समाप्ति र शिक्षा

पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन बुधबार विधिवत रुपमा सकिएको छ । हरेक वर्ष यसै समय अर्थात् पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घर–घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्यान्न र साँझ बडो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरी यो पर्व मनाउने गर्दछन् । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालुले पौष शुक्ल पूर्णिमाको दिन बिहानै हात खुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर व्रत सुरु हुन्छ । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एकछाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । स्वस्थानीको समाप्तिसँगै श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिएको छ ।

आमनेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ । संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुष बीचको लैङ्गिक समानताको वकालत पनि यसले गरेको छ । श्री स्वस्थानी व्रत कथाका केहि सन्दर्भ उठाएर सनातन धर्मको आलोचना नभएको भने हैन तर पनि मानिसलाई आध्यात्मिकतर्फ लैजान स्वस्थानी व्रत कथाले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यो व्रत बस्नाले सुख शान्ति समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । महिनाभर घर–घरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महत्व धार्मिक एवं आध्यामिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित समेत गर्दछ । स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने शिक्षा पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई सधैं मनन् एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको चौतर्फी विकास हुने कुरामा कसैको दुईमत नहोला । तसर्थ हाम्रो समाजमा चलिआएको स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृति तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने शिक्षा दिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update