Shittalpati
विद्यालय खुले पनि सुरक्षा अपनाऔं

पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि फागुन १ गतेदेखि पाल्पा सहित अधिकांस जिल्लाहरुमा विद्यालय खुलेका छन् । अहिले सबै विद्यालय खुलेर पठन–पाठन नियमित भइसकेको छ । झण्डै दुई हप्तादेखि बन्द रहेका यहाँका विद्यालय खुलेपछि विद्यार्थी निकै खुसी भएका छन् । कोरोना सन्त्रासका कारण विद्यालय देख्न नपाएका बालबालिकाले लामो समयदेखि विद्यालय जान पाउँदा उत्साहित हुनु स्वाभाविक हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु बन्द गरेको थियो । पछि संक्रमण सहज भएका जिल्लाहरुमा पठनपाठन गराउन सकिने आदेश जारी भएपछि विद्यालय खुलेका हुन् ।

विद्यालय खुल्नुलाई अन्यथा लिन मिल्दैन । तर विद्यालय खुलेर महामारी सहज भएको भने होइन । महामारीको अवस्था अझै पनि कायम रहेकाले स्वास्थ्य मापदण्ड भने प्रभावकारी रुपमा पालना गर्न आवश्यक छ । कोरोनाको त्रास कायमै रहेको स्वास्थ्य विज्ञहरु बताउँदै आएका छन् । तर सरकारले भने लुज गरिरहेको छ । जसको फाइदा केही विद्यालयहरुले उठाएका छन् । उनीहरुले मापदण्ड पुरा नगरी पठनपाठन गराएको देखिन्छ । यसो गर्नु थप जोखिम निम्त्याउनु हो । यसतर्फ सबै विद्यालयले ध्यान दिनै पर्छ । संक्रमणबाट सुरक्षित बनाउन कक्षा कोठामा मात्र नभई स्कुल बस, क्यान्टिन, हलमा भिडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । नर्सको व्यवस्था, दैनिक स्वास्थ्यजाँच, घर फर्किसकेपछि पनि अभिभावकद्वारा स्वास्थ्य परीक्षण र अवलोकन, हाइजेनिक खाना, रोग प्रतिरोधी क्षमता विकास र अन्य संक्रमणबाट बचाउन सक्ने पोसिलो खानामा विद्यालय तथा अभिभावकले विशेष ध्यान दिनै पर्छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद सामग्री, पाठयसामग्री, कक्षाकोठा, बस, क्यान्टिन लगातार सफा गर्नपर्छ । विद्यार्थी, शिक्षक र कर्मचारी स्वास्थ्यजाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ । यसो गर्न सके मात्र विद्यालय खोलेर पाठपाठन गराउनुको सार्थकता रहन सक्छ । अन्यथा स्वास्थ्य मापदण्ड पालनामा ध्यान नदिने हो भने शैक्षिकसंस्था कोरोनाको हब हुन सक्छन्, त्यसमा सबै संवेदनशील बन्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update