नेपालमा बालश्रम नियन्त्रणका लागि जतिसुकै प्रयास गरिएको भनिएपनि बालश्रम नियन्त्रण अझै पनि चुनौतीका रुपमा रहँदै आएको छ । विकासशील तथा अल्पविकसित देशका लागि त यो प्रमुख समस्यामध्येकै एक मानिने गरेको छ । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिक रूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभाव लगायतका कारण समेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ ।
दशकौंदेखि नेपालमा बालश्रम विरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्थाबाट भए पनि त्यो नियन्त्रण हुन सकेको छैन । सामान्यतयाः रोजगारीको अनौपचारिक क्षेत्र (रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैचा कारखाना, जरी कारखाना, इँटाभट्टा आदि) लगायत घरेलु श्रममा बालबालिका काम गर्न बाध्य छन् । बालश्रम यस्तो अवस्था हो, जसलाई समयमै उचित समाधान गर्न सकिएन भने यसले लामो समय देशको जनसाङ्ख्यिक लाभांशको उपयोगलाई परिणाममुखी हुन दिँदैन । आर्थिक दृष्टिले सक्रिय जनसंख्याको उमेर संरचना सकारात्मक भएपनि बालश्रम, कुपोषण, अदक्षता, अज्ञानताले जनसाङ्ख्यिक लाभांशलाई प्रभावित गर्ने भएकाले शिक्षित गराउनुपर्ने वर्गलाई बालश्रममा अल्झाएर व्यक्ति तथा देशलाई दीर्घकालीन समस्या बोकाउनु हँुदैन । नेपालमा १७ वर्षमुनिका दुई लाख ८६ हजार बालबालिका आर्थिकलाभको कार्यमा संलग्न भएको देखिएको छ । अझै अनाथ, असहाय, असक्त, बाबुआमा विहीन, जोखिममा रहेका, सडक बालबालिका एवं आधारभूत अधिकारबाट बञ्चित बालबालिकाको उचित संरक्षण र व्यवस्थापन गरी उनीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने चुनौती बाँकी नै छन् । तसर्थ सरकारले यि चुनौतीलाई चिर्दै बालश्रममुक्त मुलुक बनाउने दिशामा सोच्न जरुरी छ ।