Shittalpati
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते

गुल्मी,नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम फाल्गुण १० गते तम्घासमा गर्ने निर्णय गरेको छ । जिल्ला कार्य समितिको पहिलो बैठकले गत माघ १५ गते वडा कार्य समितिको सशक्तिकरण एवम सबलीकरणका लागि जिल्लाका सबै वडाका सभापति र सचिवहरुको प्रशिक्षण तम्घासमा आयोजना गर्ने र प्रशिक्षणमा केन्द्रीय तहका नेतालाई प्रशिक्षकको रुपमा बोलाउने भन्ने निर्णय गरेको थियो । तर कोरोना भाइरसको तेस्रो लहरका कारण जिल्लामा संक्रमितको दर बढ्दै गएपछि उक्त प्रशिक्षण स्थगित गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे र केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेल आउने भएका छन् । प्रशिक्षण कार्यक्रमको लागि जिल्लातहका विभिन्न नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । जसमा आवास व्यवस्थापनतर्फ अनन्तराम पौडेलको संयोजकत्व रहेको छ । सचिवालयमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्य समितिलाई जिम्मा दिइने निर्णय गरिएको छ । खाजा व्यवस्थापनमा जिल्ला सह–सचिव छविलाल पाण्डे र कृष्ण प्रसाद पोखरेललाई जिम्मा दिइएको छ । मञ्च व्यवस्थापनमा जिल्ला सह–सचिव धर्मराज पाण्डे र महाधिवेशन प्रतिनिधि गोपाल थापा मगरलाई जिम्मा दिइएको छ । स्वयंसेवक परिचालनमा जिल्ला सदस्य उदय बहादुर थापा, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघलाई जिम्मा दिने निर्णय गरिएको छ । अतिथि सत्कारका लागि महाधिवेशन प्रतिनिधि अमृतादेवी कुँवर र जिल्ला सदस्य निर्मला खत्रीलाई जिम्मा दिने निर्णय गरिएको छ । त्यस्तै प्रशिक्षण सामग्री व्यवस्थापनका लागि आमन्त्रित जिल्ला सदस्य रेशम कुँवरलाई जिम्मा दिने निर्णय गरिएको काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update