हरेक अँग्रेजी वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रुपमा मनाउने गरिन्छ । आज पनि विश्व रेडियो दिवस मनाइदै छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो ।
रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामाजिक, साँस्कृतिक तथा धार्मिक हिसावले विविधता रहेकाले नेपालमा रेडियोको लोकप्रियता अझै कायमै छ । नेपाली जीवन शैलीको कारणले पनि अन्य सञ्चार माध्यमको तुलनामा रेडियो माध्यम लोकप्रिय र उपयोगी बनेको हो । नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजरुपमा रेडियोको प्रसारण पुगेको हो । अहिले पनि रेडियो सबैको पहुँचमा छ । रेडियोले हरेक घटना परिघटनामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
नेपालमा कोरोना प्रकोप सुरु भएर लकडाउन सुरु भएपछि जुन तवरले ठाउँ–ठाउँमा रहेका नागरिकहरुलाई रेडियोले सचेतना गराउने, सचेतनामुलक रेडियो कार्यक्रमहरु सञ्चालन गर्ने, स्थानीय तहलाई निरन्तर खबरदारी गर्ने काममा महत्पवूर्ण भूमिका खेले त्यो प्रशंसनीय छ । लोकतान्त्रिक आन्दोलन, विनाशकारी भूकम्प, बाढी र पहिरोको प्रकोपजस्ता इतिहासका महत्वपूर्ण कालखण्डमा नेपाली रेडियोहरूले सूचना सम्प्रेषणमा पु¥याएको योगदानकै कारण अहिले पनि यो विश्वासिलो माध्यमका रूपमा देख्न सकिन्छ । तर रेडियोहरुले समय सापेक्ष आफुलाई चलाउन नसक्दा यसको सान्दर्भिकता खस्केको कुरालाई नकार्न सकिदैन । अनलाइन न्युज पोर्टलहरूले छिनछिनमा विश्वभरका ताजा सूचना पाठकका मोबाइल स्क्रिनमा पु¥याउन थालेपछि रेडियोको महत्व केही कम अवश्य पनि भएको छ । रेडियो सुन्ने स्रोताहरु अहिले निकै कम भएका छन् । रेडियोले तीव्र रूपमा सूचना प्रवाहभन्दा पनि विषय–वस्तुको गहनतामा पुग्ने कोसिस गर्नुपर्ने अवस्था अहिले सिर्जना भएको छ । अझ सामाजिक सञ्जालमा आइसकेका सूचनालाई रेडियोले समाचारका रूपमा प्रस्तुत गर्दा स्रोताको चाहना पूर्ति हुन सक्दैन । कुनै पनि विषयको साङ्गोपाङ्ग प्रस्तुति, फरक मतलाई पनि दिइने स्थान, नेताहरूको भाषण र कटाक्षभन्दा विशेषज्ञको अनुभवमा आधारित भएर रेडियो कार्यक्रम र समाचारहरू सम्प्रेषण गर्नुपर्ने बेला आइसकेको छ । तर, त्यसका लागि रेडियोमा काम गर्ने जनशक्तिमा लगानी आवश्यक छ । जुन अहिले रेडियो प्रसारकहरूको प्राथमिकतामा छैन । यसर्थ रेडियोहरूलाई वास्तविक आवाजविहीनहरूको आवाज बनाउन कार्यक्रमको प्रस्तुतिमा परिमार्जनसँगै श्रोताको चाहनालाई प्राथमिकतामा राख्न जरुरी छ ।