Shittalpati
महामारी कायमै छ लापरवाही नगरौं

पछिल्लो समय कोरोना महामारी केही साम्य भएको जस्तो देखिएको छ । तर संक्रमणको दरमा केही कमी भई साम्य भएजस्तो देखिए पनि पनि यसको संक्रामकतामा भने कमी आएको छैन । संक्रमित भई अस्पताल धाउनेको भीड र मृत्यु हुनेको संख्या हेर्दा महामारीको असरमा भनेको जस्तो कमी आउन सकेको छैनन् । नमुना परीक्षण गरिएका १ सय जनामा १५ प्रतिशतसम्म संक्रमित भेटिएका छन्, भने दैनिक सरदर १२ जनासम्मले ज्यान गुमाइरहेका छन् । यसैले महामारीको जोखिमलाई कम आँकलन गर्न मिल्दैन । सक्रमणको दरमा केही कमी देखेर साम्य भयो भनेर अहिले मख्ख परी हाल्ने अवस्था भने छैन । जुन रुपमा संक्रमणको अवस्था घट्नुपर्ने हो त्यो सोचे झैं छैन । अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मीहरु नै अहिले पनि संक्रमित भइरहेकाले संक्रमणको दरमा केही कमी देखिए पनि यसको संक्रामकतामा कमी भने आएको छैन । त्यसैले पनि सुरक्षाका मापदण्ड अपनाउने विषयमा कसैले पनि लापरवाही गर्नुहुँदैन । सबै सर्वसाधारणले बाहिर निस्कँदा सबै प्रकारको सुरक्षा मापदण्ड अवलम्बन गर्न जरुरी छ ।

साधारण नागरिकहरुको आर्थिक अवस्थालाई ख्याल गरेर सरकारले हाल स्मार्ट लकडाउनको घोषणा र कार्यान्वयन गरे पनि कतिपयले खुला अवस्थामा रहेकाले कोरोना महामारी संक्रमण भनेको सामान्यजस्तै भइसकेको महशुस गर्न थालेका छन् । जसले गर्दा थप चिन्ता निम्त्याएको छ । सडक र सार्वजनिक सवारी साधनहरूमा अनावश्यक भीड देखिन थालेको छ । केही व्यक्तिहरुले त मास्कसमेत नलगाई हिडेको समेत देखिन्छ । कोही कतै त प्रहरीको आँखा छल्नको लागि मात्र लगाउने नत्र नलगाउने सम्मका गतिविधिहरु हुन थालेको देखिन्छ । यसले गर्दा अरूलाई संक्रमण बनाउन सक्ने सम्भावना देखिन्छ । स्वास्थ्य मापदण्डको पालनामा निकै कमी आएको छ । यस्तो लापरवाहीका कारण फेरि पनि स्थिति भयावह हुन सक्छ । तसर्थ त्यस्तो स्थिती आउन नदिन सबै पक्ष संवेदनशील र सचेत बन्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update