Shittalpati
माघे संक्रान्ति र यसको महत्व

नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ । हाम्रा यस्तै पर्वहरूमध्ये महत्वपूर्ण पर्व माघे संक्रान्ति पनि हो । सूर्यले मकर राशिमा प्रवेश गर्ने दिन भएकाले हामी यस पर्वलाई मक्कर संक्रान्ति पनि भन्छौं । यस पर्वले हाम्रो जनजीवनमा धार्मिक, ऐतिहासिक र आध्यात्मिक महत्वसमेत बोकेको छ । माघे संक्रान्तिले खास गरी दान र पुण्यको महत्व र महिमालाई स्पष्ट पारेको देखिन्छ । यस दिन पवित्र नदीहरूमा स्नान गरी सत्पात्रमा दिइएको दान कुनै पनि मानवका लागि अत्यन्तै फलदायी हुने कुरा पद्मपुराणमा उल्लेख गरिएको छ ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । माघे र मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ । तर यस वर्ष पनि कोरोना महामारी कायमै रहेकाले खासै नदी तथा घाटहरुमा स्नान गर्नेहरुको भिड नहुने देखिन्छ ।
नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । माघ संक्रान्ति मध्ये जाडोको रमाइलो पर्व पनि हो । यस दिन तेल लगाउने प्रचलन पनि छ । यो पर्व धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण रहेको छ । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । यसर्थ यो पर्व धार्मिक दृष्टिले मात्र नभई सांस्कृतिक,सामाजिक र वैज्ञानिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update