गुल्मी, जिल्लाको रेसुङ्गामा निर्माणधिन अस्थामा रहेको विमानस्थलको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।
विमानस्थलको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम अगाडि बढेको हो । विमान स्थल अनुगमनमा पुगेकी मन्त्री झाँक्रीलाई वडाअध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । धावनमार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन सकेको थिएन् । तर अहिले भने विमानस्थलका अन्तिम चरणका कामहरु हुन थालेका छन् । अहिले विमानस्थल निर्माणको काम आशा लाग्दो अवस्थामा रहेको वडाअध्यक्ष अर्यालले बताए । अनुगमनकै क्रममा टर्मिनल भवन निर्माणको कार्य गरिरहेका निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले भवन अन्तिम चरणमा पुग्न लागेको बताए । उनले भवनसँगै अन्य निर्माण कार्यमा पनि ध्यान दिन आग्रह गरे ।
विमानस्थल अनुगमनमा पुगेकी मन्त्री झाँक्रीले योजना छनोट प्रक्रिया वडा तहबाट नभई केन्द्रबाट हुने गरेको बताइन् । उनले वडा तहबाट छानिने विकासका आयोजनाहरु प्रभावकारी हुने उल्लेख गरिन । केन्द्रबाट छानिने उल्टो विकासको योजना खारेजी हुनुपर्नेमा उनले जोड दिइन् । अहिलेसम्म विकास व्यक्तिको मुखमा र खल्तीमा दैडीरहेको विकासको मोडालिटी भएकाले त्यसको अत्य हुनुपर्ने मन्त्री झाँक्रीले बताइन् । नागरिककै आवश्यकताका आधारमा विकासका आयोजनाहरु छनोट हुनुपर्ने उनको भनाई छ । उनले गुल्मी जिल्लाकै गौरवकै रुपमा रहेको रेसुङ्गा विमानस्थल सुस्त गतिमा काम हुनुले आफ्नो पनि चासो चिन्तन रहेको बताइन् । आफु पनि यही जिल्लावासी भएकाले यो जिल्लाको महत्वपूर्ण आयोजना समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिइन् । यस आयोजनालाई समयमै सम्पन्न आफ्नो तर्फबाट सक्दो सहयोग रहिरहने मन्त्री झाँक्रीले उल्लेख गरिन् । विमानस्थलका धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको छ । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो । तर परीक्षण उडान सफल भए पनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका छन् । धावन मार्गको निर्माणको कार्य रौताहा हरि जेभीले ७ करोड ५ लाख रुपैयाँमा गरिरहेको छ । टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो । –अनिल खत्री