Shittalpati
सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश

गुल्मी (रुरु क्षेत्र), एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वाँदीको सिङ्गो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरी नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् । स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस रुरुक्षेत्र २ ग्वाँदीको आयोजनामा भएको नयाँ पदाधिकारको स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सिङ्गो गाउँका २८ घरधुरीका ६० ले पार्टी परित्याग गरेको यो गाउँकै पहिलो घटना हो । नेपाली काग्रेस रुरुक्षेत्र वडा २ का सभापति नारायण ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले १४ औं महाधिवेशन पछि नेपाली काँग्रेसको नयाँ सोंच र अभियानलाई आत्मसाथ गर्दै नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्नु आफैमा अत्यन्तै महत्वपूर्ण भएको धारणा राखे । उनले भने काँग्रेसले अब कुनै पनि हालतमा जनताको शिर झुक्न दिनेछैन र विकासका हरेक कार्यलाई प्राथमिकता दिएर अगाडि बढ्ने छ । पन्थीले थपे, काँग्रेसले नयाँ नेपाल निर्माणका साथै अब हुने निर्वाचनमा बहुमत ल्याउने छ, काँग्रेस जनमूखि भएर अगाडि बढ्ने बेला भएको छ । दलित भएकै कारण र गरिब भएका कारण हुने विभेदका साथै जिल्लाबाट सबै किसिमका विभेद्को अन्त्यका लागि नेपाली काँग्रेस गुल्मीले सधैँ विरोध गर्ने र समतामूलक समाज निर्माणमा सबैको ध्यान जानुपर्ने धारणा व्यक्त सभापति पन्थीले गरे ।

नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले विकास र निर्माणमा काँग्रेसले गरेको योगदानलाई अब जनताले मूल्याङ्कन गरेर अगाडि बढ्ने बेला भएको र हरेक क्षेत्रबाट नेपाली काँग्रेसप्रतिको जनलहरका कारण पार्टी प्रवेश गर्नेहरुको संख्या बढेकोमा खुसी व्यक्त गरे । सचिव भट्टराईले रुरुमा नेकपा एमालेले राज्य सञ्चालन गर्दै आएको भएता पनि हाल सम्म स्थानीय मतदाताका कुनै पनि समस्याहरुको पहिचान गर्ने प्रयास नगरेका कारण एमाले परित्याग गर्नेहरुको संख्या बढेको बताए । कार्यक्रममा काँग्रेस गुल्मीका सहसचिव छवि पाण्डेले काँग्रेस जनताको पार्टी भएका कारण काँग्रेस प्रतिको विश्वास बढ्दै गएको बताए । कार्यक्रमका अर्का वक्ता नेपाली काँग्रेस क्षेत्र १ प्रदेश ­‘क’ का सभापति सन्तोष गौतमले नेपाली काँग्रेसको इतिहास आफैमा गौरवशाली भएका कारण पनि मुलुकलाई संकट पर्दा काँग्रेस अगाडि आउने गरेको धारणा व्यक्त गरे ।

प्रदेश ‘क’का उपसभापति मंगलबहादुर रेगामीले रुरु क्षेत्रका जनताका हरेक समस्याहरु एमालेका जनप्रतिनिधिले वेवास्ता गरेका कारण जनताको मन दुःखेको बताए । कार्यक्रमा नेपाली काँग्रस रुरु क्षेत्र गाउँ कार्यसमितिका सभापति देवेन्द्र मल्लले रुरु क्षेत्रमा नेपाली काँग्रेसको जीत हुने धारणा व्यक्त गरे । कार्यक्रममा सभापति नारायण ज्ञवालीले नेपाली काँग्रेसको विचार मन पराएर प्रवेश गर्ने सबै साथीहरुलाई जिम्मेवारी दिन पुराना साथीहरु जतिबेला पनि तयार हुने र नयाँ र पुराना बिच कुनै पनि विभेद नहुने धारणा व्यक्त गरे । नेपाली काँग्रेस रुरु क्षेत्र गाउँ कार्य समितिका उपसभापति चिरन्जिवी अर्यालको स्वागत मनतव्य र सचिव सुमन बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update