Shittalpati
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?

नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो । विगतमा देखेको श्रीनगर र आजभोलि देखेको श्रीनगरको व्यवस्थापन पक्षमा भने ज्यादै अन्तर भएको महशुस गरायो । उक्त स्थानमा रहदा/घुमफिर गर्दा देखेका विविध पक्षलाई उल्लेख गरी सम्बन्धित पक्षको ध्यान आर्कषण होस् र तत्काल परिवर्तनको कदम चलोस् भन्दै यहाँ विविध पक्षको चर्चा परिचर्चा गर्न खोजिएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला दश वटा स्थानीय तह मध्यको एक स्थानीय तह हो । तानसेन नगरपालिका जुन पाल्पाको सदरमुकाम पनि हो । प्रकृतिले कुनै कन्जुस्याई नगरिकन उपहार दिएर होला यसलाई भारतको दार्जिलिङ सित तुलना गर्ने गरेको पाइन्छ भने पहाडकी रानी उपनामले पनि चिन्ने गरिन्छ । जाडो याममा भन्दा पनि गर्मी यामको अवधिमा यो ठाउँमा दैनिक जसो पर्यटकको मेला जस्तै गरी भिडभाड लाग्ने गर्दछ । यो पाल्पा लगायत छिमेकी जिल्लाका नागरिकहरुको लागि वनभोज खाने सबै भन्दा उपयुक्त र आर्कषणको केन्द्र हो यो ठाउँ भन्दा कसैको दुई मत नरहला । श्रीनगर वनभोज खान र उत्तरतिर देखिने हिमश्रृङ्खलाहरु दृश्यावलोकनको लागि आर्कषणको केन्द्र त छदै थियो यहाँ निमार्ण भएको ३२ मिटर अग्लो नौ तले भ्यूटावर ले यसको आर्कषणमा थप इट्टा थप्ने काम गरेको पाइन्छ । यसको उचाई चुमे पछि हामी सुन्दर नगरी तानसेन, मनै लोभ्याउने माडी फाँट, तराईका केहि समथर क्षेत्रहरु, गुल्मी, स्याङजा, पर्वत, तनहुँ जिल्लाका क्षेत्रहरु, माछापुच्छे्र, अन्नपूर्ण, धवलागिरी हिमश्रृङ्खलाहरुका आर्कषक दृश्यहरु । यसका अलावा सुन्दर, शान्त र एकान्त वातावरण, हनुमानको मुर्ती, बौद्ध स्तुप लगायतका हेर्न र मन लोभ्याउने अनेकौ आर्कषणका विविध पक्षले भरिपूर्ण छ श्रीनगर ।

साविकको तानसेन नगरपालिकाले आफैले व्यवस्थापनको जिम्मा लिँदा व्यवस्थापकीय पक्षबाट यो स्थल मनै आर्कषणको केन्द्र थियो तर वर्तमान स्थितिलाई मूल्याकङ्न गर्दा यो स्थान अभिभावक विहीन परिवार जस्तै भएको अनुभूती गराउछ त्यस ठाउँ पुग्दा । साच्चै माल पाएर चाल नपाएकै होकी ? हाम्रो स्थानीय तहका नेतृत्वले प्रश्न उठाउन मन लाग्दछ । जताततै फोहोरै फोहर, रक्सी र वियरका जताततै फालिएका बोतलहरु, वनभोज स्थलको सरसफाईमा कुनै ध्यान नदिएको वरीपरी झाडीले भरिएको, पर्याप्त शौचालय बनाउन नसकेको कारण खुला स्थानमा दिसा पिसाव जताततै देख्न पाइने यसले हाम्रो व्यवस्थापकीय पक्षलाई गिज्याई रहेको आभाष गराउद छ । राज्यको पुनःसंरचना भएर होकी ? घर आगनमा नै आएको सिहदरवार भएर होकी ? ठेक्का र लिजमा श्रीनगरको व्यवस्थापन जिम्मा दिएर होकी ? बेथितीको कारणले हो यहाँको दस्तुरमा त मनै दुखाउने गरी बढाइएको रहेछ । हामीले राज्यको सुविधाको कुनै मतलवै नराखेर कर, दस्तुर बुझाएझौ भएको श्रीनगर रमाईलोको लागि वनभोजका लागि पुगेकालाई ढाडनै सेकाउने गरी राखिएको प्रवेश शुल्कले न्यूनतम रु. १२०० देखि अधिकतम रु. ३००० सम्म स्टल दस्तुर र प्रत्येक व्यक्तिको लागि प्रवेश शुल्क रु.२० थप बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएकाले राज्यको नया संरचनाले वृद्धि गरेको दस्तुर उपहार यहाँ पनि सामाना गर्नु परेको होकी ? महशुस गराएको छ । शुल्क वृद्धि गरे जस्तै गरी स्टलहरुको भौतिक पक्षमा कुनै परिवर्तन देखिदैन, खानेपानीको व्यवस्था पर्याप्त छैन, शौचालयको संख्यामा वृद्धि गर्न सकिएको छैन, वनभोज स्टल भनेका ठाउँहरुमा पुर्‍याइएका विद्युतको सप्लाई हरिया रुखलाई पोल बनाईएको देखिन्छ भने यसले दुर्घटना निम्त्याउने सम्भावना अत्याधिक देखिन्छ तत्काल सम्बन्धित पक्षले यसमा धयान दिनुपर्ने देखिन्छ । फोहर व्यवस्थापनको कुनै कार्य भएको देखिदैन महिनौ अगाडि देखिको फोहर वरपर छरपस्ट देखिन्छ । प्रकृतिले उपहार स्वरुप दिएको यती सुन्दर स्थानलाई हामीले समय अनुकुल परिवर्तन गर्न सकिरहेका छैन । नयाँ योजना र रुपरेखा कतै नदेख्दा कतै श्रीनगरलाई कमाई खाने भाडो बनाइएको त हैन त्यहाँ पुग्ने अधिकांशले आ–आफ्ना साथी समूहमा गफ गर्दा छलफलको विषय बनाएको पाइयो । तर यसको उत्तर कसले दिने कहिले दिने त्यसैको पखाईमा छन्, त्यहाँ एक पटक पुगेका नागरिकहरु ।

स्थानीय तहले लिज वा ठेक्कामा दिदैमा जिम्मेवारीबाट पन्छिन हुँदैन नियमित अनुगमन, आवश्यक निर्देशन र समस्याको समाधानतर्फ उन्मूख हुनुपर्ने देखिन्छ । समय अनुसार यसको व्यवस्थापनमा नयाँ–नयाँ योजनाहरु बनाउने थप आर्कषणका केन्द्रहरु बनाउने, आवश्यक कर्मचारीको व्यवस्थापन गरी त्यहाँको सुरक्षाको व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ । पिकनिक स्थललाई कुनै स्थान विशेष तोकी अहिले जस्तो जता पनि जसरी पनि वनभोज गर्नुपर्ने अवस्थाको अन्त्य गरी व्यवस्थित गर्नुपर्ने देखिन्छ । यसका साथै हरेक वनभोज स्थलमा खानेपानीको धारा र शौचालयको व्यवस्था गर्नुपर्ने देखिन्छ । स्थलहरु घाम र पानीबाट जोगाउने खालको भौतिक व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका अलवा मनोरञ्जनका क्षेत्रहरुमा विस्तार गर्नुपर्ने देखिन्छ । धार्मिक, साँस्कृतिक र भोगौलिक अवस्था र पाल्पाको पहिचान झल्काउने पक्षहरु थप्दा यसको आकषण झन् वृद्धि हुने देखिन्छ । करोडौ खर्च गरेर बनाइएको भ्यूटावर संरक्षणको अभावमा महत्व हिन र कतै दिर्घकालीन समयसम्म सञ्चालन गर्न सकिदैन की भन्ने सजिलै आकलन गर्न सकिन्छ त्यहाँ पुगेर अवलोकन गर्दा ।

कुनै राजनीतिक प्रतिशोध वा कुनै व्यक्ति माथि केन्द्रीत गरेर यो विषय पक्कै उठाउन गरिएको होइन तर आन्तरिक र वाÞय पर्यटकको आकर्षकको केन्द्र यो तानसेन नगरपालिकाको मात्र हैन यो पाल्पा र पाल्पालीको पहिचान हो । साझा सम्पति पनि हो भन्दा दुई मत नरहला । श्रीनगर यसलाई समय अनुसार परिवर्तन गर्दै लैजानुपर्ने आजको आवश्यकता हो । पछिल्लो समय जनमानसमा श्रीनगरलाई कमाई गर्ने भाडो बनाइयो, तानसेन नगरपालिकाले आन्तरिक आम्दानीको स्रोत मात्र बनायो यसलाई व्यवस्थित गर्न सकेन । हरेक पक्षमा अस्तव्यस्त भयो, ह्रास उन्मूख भयो, हिजो जस्तो पनि आज भएन भनि नागरिकहरुमा उठेको जिज्ञासाको चिरफार गरी यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । समय अनुकुल योजना बनाई सेवा सुविधामा विस्तार गर्दै लानुपर्ने देखिन्छ । श्रीनगरलाई समय अनुसार व्यवस्थित गरी पर्यटकलाई आर्कषित गर्न सक्ने हो भने तानसेन नगरपालिकाको आन्तरिक राजश्व संकलन गर्न सकिन्छ । साथै धेरैलाई रोजगारी दिन सकिने तथा आसपासका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने प्रशस्त सम्भावना भने जीवीत रहेको छ । पाल्पा र आसपासका जिल्लाको आर्कषणको केन्द्र मात्र नबनाई समग्र नेपाल र अन्तर्राष्ट्रिय पर्यटकको आर्कषणको केन्द्र बनाउनको लागि तिनै तहका सरकारले आवश्यक प्रभावकारी योजना बनाई वजेट छुट्याउनु पर्ने देखिन्छ । यसका लागि सम्वन्धित स्थानीय निकाय लगायत सम्बन्धित पक्ष आ–आफ्नो ठाँउबाट नेतृत्वदायी भूमिका निभाउनका लागि अग्रसर हुने की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update