नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नयाँ अनुहार सहितको टिम आएको छ । नेतृत्वमा शेरबहादुर देउवा दोहोरिए पनि अन्य पदाधकिारीहरुमा भने युवा पुस्ता आएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाई आफ्नो पार्टीको नीति र सिद्धान्त बनाएको नेपाली काँग्रेसले पार्टीलाई पार्टीको नीति र सिद्धान्त अनरूप परिचालन गर्न नसक्दा पछाडी धकेलिएको छ । काँग्रेस गुटबन्दीमा रुमालिएका कारण पनि उसले सोचे जस्तो सफलता प्राप्त गर्न सकेको छैन । अब भने काँग्रेसमा केही हुन्छ कि भन्ने अनुमान गर्न सकिन्छ । पुस्तान्तरण र रुपान्तरणका मुद्धा उठाएका गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवाहरु नेतृत्व तहमा पुगेकाले पनि काँग्रेस परिवर्तन हुन सक्नेमा आशा गर्न सकिन्छ ।
२०७४ सालको प्रतिनिधि सभा चुनावमा चुनाव हार्नुको मुख्य कारक तत्व बाम गठबन्धन भए पनि त्यसका पछाडी काँग्रेसका बागडोर सम्हाल्नेहरूको थुप्रै कमी कमजोरीहरू पनि छन् । नेपाली काँग्रेसको भातृ संस्था हाक्नेहरू चुनावी मैदानमा खटिएर अगाडि बढ्नुको साटो पद जोगाउन र पाउनकै लागि विभिन्न गुट उपगुटका नाममा बुढानिल कण्ठ, बोहराटार र चाक्सीबारीको ढोकामा पुगी नेताको सामु शरणमा पर्नु, भातृ संस्थालाई सही मार्गमा परिचालन गर्न नसक्नु, टिके प्रथाबाट कमिटी गठन हुनु, राम्रा र नेतृत्व लिन सक्छु भन्नेलाई बाइपास गराउनु र बाइपास गराइएका काँग्रेसीहरू पार्टी प्रति लागि नपर्नु, काँग्रेस भित्र राम्रालाई भन्दा हाम्रालाई स्थान दिनु, भाइ, भतिज श्रीमतीहरूको पार्टी भित्र राज चली रहनु पनि हो पार्टीे पछाडी पर्नुको कारण । यी कारणहरुलाई अबको नेतृत्वले तोड्न जरुरी छ । त्यो तागत अब शेरबहादुरले देखाउन आवश्यक छ । किन की देउवाका लागि यो समय स्वर्णीम अवसर मात्र नभई सभापति बन्ने अन्तिम अवसर पनि हो । काँग्रेसको विधानतः दुई कार्यकाल सभापति हुन नपाईने छ । यस कारण पनि शेरबहादुर देउवाले इतिहास रच्नका लागि पार्टीमा देखिएको गुटबन्दीलाई चिर्न र पार्टीलाई थप सशक्त बनाएर लैजान यो अवसर पनि हो । महाधिवेशनका बेला सिर्जित गुटगत राजनीतिका कारण केन्द्रदेखि वडा तहसम्म नेता÷कार्यकर्ता चिरा–चिरामा छन् । अब सभापति भएपछि देउवाले कुँडिएका–भाँचिएका मनलाई जोड्दै सग्लो काँग्रेसको माहौल सिर्जना गर्नुपर्नेछ । अनि आफैँँद्वारा वा चुनावी प्रतिस्पर्धा निम्ति सिर्जित ‘गुटतन्त्र’ अन्त्य गर्न पाइला चाल्न साहस देखाउनुपर्छ ।