नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोररिए पनि अन्य पदाधिकारीमा भने नयाँ अनुहारहरु आएका छन् । काँग्रेस नेतृत्व हस्तान्तरण र रूपान्तरणको व्यापक बहस भइरहँदा उपसभापति, महामान्त्री र सहमहामन्त्रीमा युवा नेतृत्व नै आएको छ । पाको नेताहरुलाई हराउँदै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा युवा नेता आएका छन् । उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का निर्वाचित भए । महामन्त्रीमा उदयमान युवाहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महामन्त्रीमा चौथो पुस्ताका नेताहरु आउनुले भविष्यको पार्टी नेतृत्वका निम्ति पनि महत्वपूर्ण सन्देश हो । अर्को पटक गगन र विश्वले स्वभाविक रुपमा सभापतिमा आकांक्षा राख्ने भएकाले पनि यो महाधिवेशन ऐतिहासिक बन्न पुगेको छ ।
नेपाली काँग्रेस वृत्तमा मात्र होइन, आमसमुदायमा पनि यी दुई युवा चर्चित र लोकप्रिय मानिन्छन् । यिनीहरू माथि आमनागरिकको पनि आमभरोसा पनि छ । थापा र शर्माको उदयले नेपाली काँग्रेसको नेतृत्व अब युवा पिँढीमा रूपान्तरण भएको मात्र सन्देश दिएको छैन, पार्टीभित्र गुट तथा उपगुटको कुनै अर्थ र औचित्य छैन भन्ने तथ्य पनि स्थापित गरिदिएको छ । महाधिवेशनमा प्रतिनिधिको सुविचारित मत प्रकट भएको छ । प्यानल बनाएर सबै जना चुनावमा होमिएकामा महाधिवेशन प्रतिनिधिले मतदानमा भने विवेक प्रयोग गरेका छन् । गगन र विश्वप्रकाश रूपी रूखहरू नेपाली काँग्रेसमा ढुङ्गाको काप फोरेर उम्रेका छन् । नेपालको राजनीतिमा अस्थिरताको जड नै पार्टीभित्रको गुट र उपगुट हो । यो रोगबाट नेपाली काँग्रेस स्थापनाकालदेखि नै ग्रसित थियो । अब भने उर्जावान युवाहरुको उदयले यसको अन्त्य गर्न सक्नेमा विश्वास गर्न सकिन्छ । थापा र शर्माको विजयले केही हदसम्म भए पनि अहिले नै गुटको अन्त्य र रुपान्तरण भएको संकेतका रुपमा लिन सकिन्छ ।