पछिल्लो समय देशभर चिसो बढेको छ । पुस महिना लाग्नै लाग्दा चिसो अध्याधिक बढेको हो । यसले आमनागरिकको जनजीवन कठिन बन्दै गएको छ । चिसोले विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित हुने गर्दछन् । चिसोको कारण दम, रुघाखोकी, निमोनिया जस्ता समस्याले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको छ । त्यसैले चिसोबाट बच्न सतर्कता अपनाउन जरुरी छ । विगतमा जाडोले कठ्याग्रिएर मानिसको मृत्यु भएका समाचारहरु समेत आउने गर्दथे ।अहिले पनि त्यस्तो नहोला भन्न सकिदैन । हरेक वर्ष निश्चित महिनामा अत्याधिक जाडो हुने तथा तराई क्षेत्रमा शीतलहरको प्रभावले जनजीवन प्रभावित हुने थाहा भएपनि जाडोबाट बच्नको लागि आवश्यक तयारी नगर्दा जनजीवन बढी प्रभावित हुने गर्दछ ।
कतिपय अवस्थामा भने जाडोबाट बच्न सामान्य सावधानी नअपनाउँदा पनि जनधनको क्षति पुगेको देखिन्छ । जस्तो कि, जाडोमा बालबालिका, वृद्धवृद्धाहरुलाई साँझ–बिहान चिसो बढेको बेला न्यानो कपडा लगाइदिने, तातो र ताजा खानेकुरा खान दिने, घाम लागेपछि मात्र हिँडडुल गराउने गरेमा मात्र पनि चिसोबाट धेरै हदसम्म बच्न सकिन्छ । चिसोमा आगो ताप्ने बेलामा समेत सचेतता नअपनाउँदा यो मौसममा आगलागीका घटनासमेत बढ्ने गरेको छ । हिउँदका मंसिर, पुस र माघ महिना यसै पनि नेपालीका लागि निकै चिसा महिना हुन् । सबैका लागि कष्टकर हुने यी चिसा महिना पछिल्लो समयमा जलवायुमा आएको परिवर्तनका कारण चिसो कहिलदेखि र कुन बेलासम्म रहन्छ भन्न सकिने अवस्था पनि छैन । चिसोले निम्त्याउने एलर्जी, दम, पिनास र बाथ पनि यही समयमा बढी देखिने गर्छ । चिसोबाट हुन सक्ने रोगबाट बच्न निकै सतर्कता अपनाउनुपर्ने हुन्छ । तुलनात्मक रुपमा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गहरु यो समयमा अझ बढी प्रभावित हुने गर्छन् । मौसम अनुसार चिसो बढ्नु स्वाभाविक भएपनि यसमा पूर्वसतर्कता अपनाउँदा चिसोको प्रभाव घट्न सक्छ । त्यसैले चिसोबाट बच्नका लागि समयमै आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।