Shittalpati
हिंसामुक्त समाजको सपना

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ । ‘घरैदेखि सुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं’ यस पटकको नारा रहेको थियो । हरेक वर्ष २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म संसारभर लैङ्गिक हिंसा विरुद्धको यो दिवस मनाइँदै आएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो । हिंसामुक्त सहर, लैङ्गिकमैत्री विद्यालय र भयरहित वातावरण सिर्जना गर्न स्थानीय तहका विभिन्न संघसंस्था, अधिकारकर्मी र समूहहरुले औपचारिक कार्यक्रम गरी यो अभियानको सञ्चालन गरेका थिए । सबैको परिकल्पना हो हिंसामुक्त समाज निर्माण गर्नु । तर हिंसा अन्त्यका लागि सरकारले प्रतिबद्धता जाहेर गर्दै गर्दा र बलात्कारविरुद्धको ऐक्यवद्धता जनाइरहँदा घरभित्रै महिलाहरु असुरक्षित हुने गरेको विभिन्न घटनाले पुष्टि गरेको छ । यसो हुनु दुखद् हो । पछिल्लो समय महिला हिंसा तथा बलात्कारका घटना परिवारभित्रैका सदस्यबाट हुनु विडम्बनाको विषय बन्न पुगेको छ । यसले हाम्रो समाजलाई कतातिर धकेल्दै लगेको छ भन्ने पनि संकेत गर्छ ।

हामीले विभिन्न दिवस मनाउँदै गर्दा महिलालाई गरिने व्यवहारमा कुनै परिवर्तन आएको पाइँदैन । अझै पनि दाइजो नपाएको झोंकमा महिलामाथि हिंसा, अन्याय र अत्याचारका घटना भइरहेका छन् । महिला हिंसामा महिलाकै संलग्नता हुनु अर्को दुर्भाग्य हो । दाइजो, बोक्सी, छाउपडी, छोराछोरीमा विभेद, छुवाछूतजस्ता कुप्रथा र अन्धविश्वासलाई नेपालको कानुनले निषेध गरे पनि व्यावहारिकरूपमा अझैसम्म नेपाली समाजमा कायमै छ । संविधान र कानुनले परिकल्पना गरेको विभेदरहित समाज निर्माणका लागि समाजका प्रत्येक तह र तप्कामा व्यवहारतः सोच र कार्यशैली हुनुपर्छ । र, यसको सुरुआत प्रत्येक घरबाट हुनुपर्छ । घरमा सबै काम महिलामाथि थोपर्ने, सहयोग नगरिदिने प्रवृत्ति त्यागेर घरको काममा पनि सहयोग गर्ने, महिलालाई घरमा सम्मानपूर्वक व्यवहार गर्नुपर्छ । हेर्दा यही साना कुरा भएपनि महिला हिंसाको सुरुवात यही साना कुराबाट उठेको हुन्छ । त्यही भएर यसपालिको नारा पनि घरदेखि सुरु गरौं भनिएको हुनुपर्छ । हिंसामुक्त समाज निर्माण गर्न हरेक वर्ष दिवसका दिन सपना देख्ने गरिए पनि व्यवहारतः लागु गर्न सकिएको छैन । मानिसको सोंचमा परिवर्तन नगरेसम्म हिंसामुक्त समाज निर्माण गर्न सकिदैन । पीडित आफैले पनि अन्याय सहेर बस्नु गलत हो । यसले गर्दा पनि हिंसा अन्त्यका लागि चुनौती देखिएको छ । अब हिंसात्मक परिस्थिति अन्त्यका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म सचेत र सजग हुन जरुरी छ । यसका लागि स्थानीय तहदेखि नै महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि संयन्त्र बनाउन जरुरी छ, जसले गर्दा हिंसा अन्त्यको सपनालाई सकार पार्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update