कोभिड–१९ को महामारी कायमै रहेका बेला पुनःनयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतंक मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व आतंकित छ । दक्षिण अफ्रिकामा देखा परेको सो भाइरस विश्वका २४ राष्ट्रमा फैलिसकेको छ । त्यसले नेपालमा पनि असर देखाएको छ । अहिले यहाँका दुई जना नागरिकमा संक्रमण पुष्टि भइसकेको छ । भाइरस संक्रमण थप विस्तार हुनसक्ने आशंका गर्दै सरकारले सबै सरकारी निकायका अधिकारीलाई अत्यावश्यक काममा बाहेक विदेश जान रोक लगाएको छ । यो कदमलाई सकरात्मक मान्न सकिन्छ । कोरोनाका कारण दुई वर्षसम्म ठप्प विद्यालय भर्खरै खुलेका र जनजीवन सामान्य बन्नलागेका बेला नयाँ संक्रमण साँच्चिकै निराशाको विषय हो । झण्डै आधा नेपालीले पूर्ण खोप लगाएका छन् । तर डेल्टा वा अन्य प्रजातिका भाइरसलाई अहिले लगाइएको खोप प्रभावकारी हुन्छ वा हुँदैन भन्ने खुट्टिइसकेको छैन ।
विश्व स्वास्थ्य संगठनले यसको आकलन गर्दैछ । कदाचित् प्रभावकारी भएन भन्ने नतिजा आयो भने नेपाल मात्र होइन, विश्वमै यो ठूलो चिन्ताको विषय हो । अझ हाम्रो जस्तो अर्थतन्त्र भएको मुलक र जनताका लागि एक प्रकारको अभिशाप नै हो । संकटलाई उचित तवरले सामना गर्ने र कुशल व्यवस्थापन हो । यस्ता संकट आइरहन्छन् । त्यही भएर राज्यका संयन्त्र र प्रणाली दह्रो, विवेकी र व्यवहारिक हुनुपर्छ भनिएको हो । कोभिड–१९ को सुरुआती कालखण्डमा स्वास्थ्य मापदण्ड नअपनाउँदा र बसाल्नुपर्ने थिति नभएकै कारण धेरै नेपाली संक्रमित भए । सरकारले एकमात्र उपाय लकडाउनलाई ठान्यो । सीमामा संक्रमणको परीक्षण गर्ने बन्दोबस्त गरिएन, जसले गर्दा नेपालले ठूलै मानविय क्षति व्यहोर्नु प¥यो । अब पनि नयाँ भेरियन्टस आइसकेकाले थप विस्तार हुन नदिन पर्याप्त स्वास्थ्य मापदण्डको पालना गर्न सकिएन भने यसले ठूलै रुप नलिएला भन्न सकिदैन । हुन त सरकारको एकल प्रयासले मात्र संक्रमण नियन्त्रण गर्न सकिदैन । यसका लागि सबै नागरिकले अनिवार्य मास्क प्रयोग गर्ने, दूरी कायम राख्ने, बेला–बेला साबुन पानीले मिचीमिची हात धुने, सकेसम्म भीडभाड नगर्ने, सभा सम्मेलन नगर्ने गरौं ।