हिंसा भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई दिइने यातना, पीडा, दुःख र अपमान हो । यो शरीरिक, मानसिक, आर्थिक, यौन जन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ । शारीरिक रुपमा कुटपिट गर्ने, चोटपटक लाग्ने, यातना दिने, मानसिक रुपमा अपमान, गाली गलौज गर्ने, डर धम्की देखाउने, त्राशपूर्ण व्यवहार गर्ने पशुवत व्यवहारहरु गर्ने, हतोत्साहित गर्ने, जिस्क्याउने, गैरकानूनी रुपमा नजरवन्द वा थुनामा राख्ने जस्ता कार्यहरु हिंसाका रुपहरु हुन् । त्यस्तै यसका साथै यौनजन्य प्रकृतिका दुव्र्यवहार, बलात्कार, चेलिबेटी बेचविखन जवरजस्त यौन व्यवसायमा संलग्न गराउने, छाउपडी, देउकी, वादी, झूमा राख्ने, यौन सन्तुष्टिका लागि गरिने गलत क्रियाकलापहरु पनि हिंसाजन्य क्रियाकलापहरु हुन् । पछिल्लो समय यस्ता क्रियाकलापहरु बढ्दै गएका छन् । यसो हुनु दुःखद् हो । नेपालमा महिला हिंसा विरुद्धका कार्यक्रमहरु थुप्रै हुने गरे पनि प्रभावकारी भने हुन सकिरहेका छैनन् ।
हरेक वर्षको नोभेम्बर २५ महिलाहिंसा विरुद्वको अभियान नै सञ्चालन गर्ने गरिन्छ । यहाँ सरकारी निकाय, गैरसरकारी निकायहरुले चरणवद्ध रुपमा कार्यक्रम आयोजना गर्ने गर्दछन् । वर्षौंदेखि यो अभियान सञ्चालन भएतापनि हिंसा भने बढेर गएको छ । पहिलो कुरा हिंसा कहाँ–कहाँ हुन्छ, कसले गर्छ, हिंसा नघट्नुका कारण के हुन् भन्ने बारे हामी आफँै गम्भीर भएर सोच्नुपर्छ । सरकारले सबै खाले हिंसा अन्त्य गर्न वर्षेनि करोडौं रूपैयाँ खर्च गर्दै आएको छ । तर, लक्षित समूहमा कार्यक्रम पुग्न सकेको छैन । हाम्रो देशमा महिला हिंसाविरूद्व आन्दोलन जारी रहे पनि अझैसम्म लक्षित समूहसम्म कार्यक्रम पुग्न नसक्नु दुःखद् हो । अझै कतै दाइजोको नाममा, कतै रुढीवादी कु–संस्कारका नाममा र कतै जातीय विभेदका रुपमा हिंसा जारी छ । दिनहुँ प्रकाशित र प्रशारित हिंसाका घटनाहरुले पनि सम्पूर्ण मानव जातिलाई लज्जित पारेको यो समय महिला हिंसाविरुद्धको दिवसले बालिका, किशोरी, वृद्धा मात्र होइन सम्पूर्ण नारी जातिप्रति सम्मान, संरक्षण र सहअस्तित्वको भाव जागृत गराओस् । सबै मिलेर महिला हिंसा अन्त्य गर्न ऐक्यबद्धता जनाऔं, महिला हिंसा अन्त्य गरी सभ्य समाजको निर्माण गरौं ।