Shittalpati
अन्तर्राष्ट्रिय बालदिवसको सार्थकता

शनिबार विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धीपारित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरू, नागरिक समाज, समुदायले र बालबालिका र युवाहरू आफैंले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो । युनिसेफले सरकार र सबै सरोकारवालाहरूलाई बालबालिका र युवाहरूको जीवन र भविष्यमा प्रभाव पार्ने निर्णय लिँदा उनीहरूको विचारको पनि सम्मान गर्न आह्वान गर्दै आएको छ ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो । बाल अधिकार महासन्धि पारित भएपछि बालबालिकाहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी सुनिश्चितता प्राप्त भएको थियो । नेपालले बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर आफ्नो प्रतिवद्धता पूरा गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन । यो आफैमा दुखद् पक्ष हो । बाल अधिकार सम्बन्धिका अन्य प्रतिवद्धताहरूको समूचित कार्यान्वयन हुन सकेको छैन । बालअधिकार संरक्षण, प्रवद्र्धन र परिपूर्तिको सन्दर्भमा नेपाल सरकारले अधिकारप्राप्त निकायहरुबाट प्राप्त गरेका सिफारिसहरुलाई समयमै कार्यान्वयन गर्न सकेको छैन । आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन् । वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरूको उमेरसँंगै बढिरहेको हुन्छ । त्यसैले बालबालिका वा उनीहरूको समस्या कुनै एक व्यक्ति वा विषयसँग मात्र सम्बन्धित नभई सबै क्षेत्र, वर्ग, समुदाय, पेसा, समाज र आममानिसको सरोकारको विषय हो । नेपाल लगायत विश्वभरी सरकार लगायत विभिन्न संघ संस्थाले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने गर्दछन् । यद्यपि राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर बालदिवस औपचारिकतामा मात्रै सीमित हुन पुगेको छ । यो भने दुःखको कुरा हो । खासगरी बालबालिकाको लागि चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमा हामीले कति उपलब्धि हासिल गर्न सक्यौं वा सकेनौं ? त्यस्ता पर्वले पनि राष्ट्रिय बाल दिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो । तर त्यो दायित्वबाट सरकार चुकेको छ । बालबालिकाहरुको लागि नीति बनाएर मात्र हुँदैन, नीतिलाई व्यवहारमा रुपान्तरण गर्न सक्नु पर्छ । यसर्थ बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकारलाई व्यवहारमै सुनिश्चित गर्न सकिए मात्र बाल दिवसले सार्थकता पाउन सक्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update