कात्तिक २५ गतेदेखि जनगणना कार्य भइरहेको छ । जनगणना कार्यलाई विश्वसनीय र पारदर्शी बनाउने भनिए पनि गणनाका क्रममा केही प्रश्नहरु उठेका छन् । नाराको मर्मअनुसारको गणनाको प्रश्नावलीमा विषयको सहभागिता नभएको भन्दै चिन्ता र चासो बढेको छ । यसो हुनु हुँदैनथ्यो । यो आफैमा दुखद् हो । नेपालले नयाँ संविधान प्राप्त गरेपछिको यो पहिलो जनगणना रहेको हुनाले पनि यसले अहिले सर्वाधिक महत्व राख्दछ । गणनाका क्रममा जाति, भाषा र धर्मका विषयमा प्रश्न उठेका छन् । यसै कारण गणनामा तथ्यांकभन्दा पनि मिथ्यांकन समेटिएला कि भन्ने चिन्ता र चासो बढी छ । उसै त प्रश्नावलीको ठेली, त्यसमाथि नागरिकलाई नै अलमलमा पार्ने विषयले ऐतिहासिक गणनाको सुरुवात नै खल्लो बन्न पुग्नु सकरात्मक सन्देश होइन । भाषाको विषयमा मातृभाषा, नजिकको भाषा र दोस्रो भाषाजस्ता विषयले नागरिक आफूले बोल्ने कुन भाषा, कुन सूचीमा पर्छ भन्नेमा नै अलमलमा छन् । गणकले पनि बुझाउन नसक्दा र जे भन्यो त्यहीँ टिप्ने हुँदा लिन खोजेको विषय छुट्दैछ । यो विषय नै अहिलेको गम्भीर समस्या हो । जनगणनामा छुट्नै नहुने प्रमुख विषय भनेकै संख्या, जाति, भाषा र धर्म हो । संख्या संकलनमा समस्या नरहे पनि जाति, भाषा र धर्मको विषय विवादमा नै छ । यो अहिलेको गणनामा मात्रै उठ्ने नयाँ समस्या भने होइन । यसअघिका गणनामा पनि तिनै विषय संकलनको तथ्यमा समस्या थियो ।
अहिले लामो समयदेखि तयारी गरिएको भए पनि पर्याप्त रूपमा सचेतना फैलाउन भने नसकेको देखिन्छ । जनगणनाको महत्व किन छ र सहभागी किन हुनुपर्छ तथा सही तथ्य टिपाउन किन जरुरी छ भन्ने कुरा जनतालाई राम्ररी बुझाइएको छैन । जात, धर्म, भाषा आदिको तथ्यांक संकलन निकै अन्योलपूर्ण देखिएको छ । जनगणनाका लागि प्रचारप्रसार नै पर्याप्त भएको छैन । त्यस्तै कुन घरमा कति बेला गणक आउने भन्ने स्पष्ट तालिका भएको पाइँदैन । घरमूली नभएको बेलामा गणकले भराउने फाराममा सही जानकारी पर्छ भन्ने छैन । त्यसो हुँदा तालिका बनाएर स्थानीय तहसँग समन्वय गरी गणकहरू आउने दिनको जानकारी गराए तथ्यांक संकलन बढी यथार्थपरक हुन सक्छ । तर, यस्तो व्यवस्था गरेको देखिएको छैन । जसले गर्दा तथ्यांक नै विश्वसनीय नहुने देखिन्छ । जनगणनाका आधारमा हरेक विकास निर्माणका कार्य, योजना, कार्यक्रमहरु बन्ने भएकाले पनि जनगणनालाई विश्वसनीय र बैधता दिने विषयमा सबैले ध्यान दिन जरुरी छ ।