Shittalpati
शौचालय दिवसको औचित्य

विविध कार्यक्रम गरी आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वले शौचालयको महत्वलाई उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ । सन् २०३० सम्मको दीर्घकालिन विकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईको श्रोत र सुविधाका साथ फालिने पानीलाई पुनःप्रयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ । नेपालमा विस्तारै घर–घरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि अझैपनि शौचालय प्रयोग गरिसकेपछि पानी हाल्ने, सफा गर्ने र साबुनपानीले हात धुनुपर्नेजस्ता जनचेतना कम छ । नेपालमा खुला स्थानमा शौच गर्दा झाडापखाला, हैजा अनि अन्य मलमूत्रबाट फैलनसक्ने रोगहरु बढिरहेकाले आज यससँग सम्न्धित संस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दछन् ।

सरसफाइ आधुनिक जीवनशैलीको सर्वाधिक महत्वको विषय हो । अन्तर्राष्ट्रिय समुदायले जीवनको सुन्दरता सफाइ भनिरहेको छ । मानिसलाई रोग लाग्नु पहिले पूर्वसावधानी आवश्यक हुन्छ र त्यो पूर्वसावधानीको प्रमुख विषय हो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य र सफाइ । मानिसहरूमा कुनै रोग लाग्नु आफैमा क्षयीकरण हो । अहिले अविकसित देशका अनेक शहरहरू अव्यवस्थित बसोबासका कारण शौचालय, ढल, खानेपानी सडक आदिबाट अझै पनि बञ्चित छन् । शौचालय भएका शहरहरुमा भने शौचालयको समुचित रूपमा व्यवस्थापन हुन सकेको छैन । यो अत्यन्त दुखद् कुरा हो । शौचालय व्यवस्थापन हुन नसक्दा अनेक किसिमका रोगहरूको जन्म भएको छ । शौचालयको अव्यवस्थाकै कारण पिउने पानी प्रदूषित हुन्छ जसबाट अनेक विषाणु, कीटाणुहरू घर–घरमा पुग्दछन् । मानिस स्वस्थ रहन शौचालयको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्दछ । शौचालय सफा र व्यवस्थित गरे मात्र पनि मानिस केही हदसम्म निरोगी र स्वस्थ रहन सक्छ । यसर्थ विश्व शौचालय दिवसले शौचालय व्यवस्थापन गर्ने दिशामा आम नागरिकलाई सचेत र सजग बनाउन सके दिवस मनाउनुले औचित्य राख्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update