देशमा लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्दै आएको पार्टी नेपाली काँग्रेस यतिखेर १४ औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै काँग्रेसले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर काँग्रेसले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ भने निकट भविष्यमा नै प्रदेश र संघीय तहको नेतृत्व छनौटको पनि छिनोफानो गर्दैछ ।
असार महिना किसानहरूका लागि जति व्यस्तताको महिना हुन्छ त्यो भन्दा बढी काँग्रेसलाई माहधिवेशनको व्यस्तता छ । महाधिवेशन पार्टीको नीति, सिद्धान्त, कार्यक्रममा बहस र छलफल चलाउने, तिनलाई परिष्कृत र परिमार्जन गरेर लैजाने, सांगठनिक स्वरूप र संरचनालाई समयानुकूल ढाल्दै लैजाने र योग्यतम नेतृत्व छनौट गर्ने स्वर्णिम अवसर हो । २०१२ सालमा वीरगञ्जमा भएको नेपाली काँग्रेसको महाधिवेशनले बीपीको नेतृत्वमा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई व्याख्या गरेका दस्तावेजहरूलाई ऐतिहासिक रूपमा लिन सकिन्छ, जसले नेपाली काँग्रेसलाई आफ्नो लामो राजनीतिक मार्गचित्र तय गर्नलाई महत्वपूर्ण सैद्धान्तिक आधारशिला प्रदान गरेको थियो । नेतृत्व छनौटको विषयले पार्टीभित्र र बाहिर पनि चर्चा पाइरहेको देखिन्छ । तर काँग्रेस पार्टीले महाधिवेशनको यस पूर्वसन्ध्यामा पार्टीका सिद्धान्त, नीति र कार्यक्रमहरूका बारेमा भने पर्याप्त बहस चलाउन सकेको छैनन् । यो दुःखको विषय हो ।
वास्तवमा नेपाली काँग्रेस जस्तो पटक–पटक सत्तामा पनि आसीन भइसकेको र आगामी दिनमा पनि सहज किसिमले सत्तामा पुग्न सक्ने क्षमता राख्ने राष्ट्रिय पार्टीले अंगीकार गर्ने नीति, कार्यक्रम र योजनाले समस्त मुलुक र देशवासीको भविष्यलाई लामो समयसम्म प्रभावित पार्नुपर्दछ । महाधिवेशनको मिति सार्दै–सार्दै आइरहेको नेपाली काँग्रेस पार्टीले पछिल्लो चरणमा तोकिएको मिति सार्दासार्दै अब भने महाधिवेशन गर्ने नै भएको छ । यसभन्दा पहिले वडा र गाउँ वा नगरस्तरका अधिवेशन भइसकेका छन् । जिल्ला र प्रदेशस्तरीय अधिवेशनमा काँग्रेस तल्लीन छ । समयमै अधिवेशन हुनु र पार्टीलाई कानुनसम्मत ढङ्गले अपडेट बनाएर राख्नु आवश्यक थियो । त्यही कार्य भइरहेको छ यो सकारात्मक कुरा हो । काँग्रेसले अबको अधिवेशनबाट पार्टीलाई रचनात्मक र सशक्त बनाएर लैजान जरुरी छ ।