पछिल्लो समय नेपालमा वायु प्रदूषण बर्सैनि बढ्दो क्रममा छ । सवारी साधनको अत्याधिक चाप, अव्यवस्थित सडक निर्माण, उद्योग धन्दा, कलकारखानाहरुबाट निस्कने धुवाँको व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले वायु प्रदूषण बढ्दो रहेको छ । अहिले यो नेपालमा सबैभन्दा ठूलो वातावरणीय चुनौती बनेको छ । यसले जैविक प्रणालीमै खतरा उत्पन्न गरेको छ । विशेष गरी सहरी क्षेत्र वायु प्रदूषणको उच्च जोखिममा रहेको छ । प्रदूषण नियन्त्रण गर्न व्यवस्थित प्रयास गरिएको छैन । प्रदूषणका कारणलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण समस्या अझ गम्भीर बनेको छ । यसो हुनु दुखद् हो ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा ठूलो असर पार्दछ । यो धूम्रपान र अस्वस्थ खाना जत्तिकै हानिकारक हुन्छ । नेपालमा वार्षिक ३० हजारको ज्यान प्रदूषणले लिने गरेको पाइन्छ । पुराना सवारीसाधन, कलकारखाना र उद्योगबाट निस्कने प्रदूषित धुवाँ सबैभन्दा खतरनाक हुन्छ । प्रदूषण गाउँमा भन्दा सहरमा बढी छ । अझै ठूला सहर औद्योगिक क्षेत्रका नागरिक बढी प्रदूषणको सिकार भएका छन् । मानव समुदायले अहिले प्रदूषित धुवाँ मिसिएको हावा नै लिइरहेको छ । जसलाई मास्कले पनि छेक्न सक्दैन । हिँडडुल गर्दा मात्रै होइन घरमा नै बस्दा लिने हावा पनि अब प्रदूषित छ । वायुमण्डलमा क्रमशः प्रदूषणले भरिएको हावा फैलिएकाले यसबाट जोगिने उपाय भनेकै प्रदूषण घटाउनुबाहेक अन्य विकल्प छैन । प्रदूषण नियन्त्रणका लागि गरिने उपाय योजनावद्ध, व्यवस्थित र समन्वयात्मक हुनुपर्छ । अघिअघि सडक पिच गर्दै जाने र पछिपछि ढल राख्न खन्दै जाने परिपाटी रहुञ्जेल प्रदूषण नियन्त्रण हुन सक्दैन । यद्यपि प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नुपर्छ किनभने सबै प्लास्टिक पुनः प्रयोग गर्न सकिँदैन र त्यसलाई पुनः प्रयोगयोग्य बनाउँदा पनि थप प्रदूषण हुन्छ । पुराना गाडी चलाउन रोक लगाउने निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यसर्थ यसका लागि सरकारसँग प्रदूषण घटाउन स्पष्ट नीति, दृढ इच्छाशक्ति र व्यवस्थित योजना हुन जरुरी छ ।