‘सह’ र ‘कार्य’ मिलेर सहकारी बनेको छ । जसको शाब्दिक अर्थ एक आपसमा सँगै मिलेर बस्नु, सोच्नु, मिलेर काम गर्नु, मिलेर व्यवसाय गर्नु वा मिलेर उद्यम गर्नु हो । सहकारी संगठित, स्वतन्त्र, स्वायत्त व्यावसायिक तथा प्रजातान्त्रिक प्रक्रियामा आधारित सरकार नियन्त्रित नभई सदस्यद्वारा नियन्त्रित हुन्छ । यो अविच्छिन्न, उत्तराधिकारवाला, आफ्नै शासकीय प्रणाली र व्यवस्थापकीय पद्धति भएको संयन्त्र पनि हो । ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने आदर्शबाट सहकारीको सुरुवात भएको हो ।
विश्वव्यापी परिभाषा अनुसार सहकारीको उद्देश्य भनेको आफ्ना सदस्यहरुको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्नु हो । स्वेच्छिक रुपमा मिलेर काम गरी आ–आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक उन्नतिका लागि काम गर्ने व्यवसायिक संस्था नै सहकारी संस्था हो । देशलाई समृद्ध बनाउन वा ‘समृद्ध राष्ट्र, सुखी जनता’ नारालाई साकार गर्ने माध्यम पनि सहकारी हो । यसले कृषि, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सहयोग गर्छ । सहकारीले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, आर्थिक वृद्धि र सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यो आफैमा राम्रो पक्ष हो । सहकारीताको माध्यमबाट रोजगारी सिर्जना भएका छन् । उत्पादन वृद्धि भएको छ । गरिबी निवारणमा टेवा पुगेको छ । विभिन्न प्रकृतिका सहकारी संघसंस्थाले झण्डै सत्तरी अर्बको शेयर पूँजी निर्माण गरेका छन् । दुई खरब भन्दा बढी निक्षेप संकलन गरेका छन् र त्यत्तिकै मात्रामा लगानी विस्तार गरेका छन् । यसर्थ सहकारीहरुको प्रभावकारी भूमिकाद्वारा नेपालको प्रजातन्त्रको दिगो विकास, सामाजिक–आर्थिक रुपान्तरण, सर्वसाधारण जनताको आर्थिक पहुँच सुरक्षा गर्दै समृद्ध समाज निर्माण गर्ने विषयमा कुनै दुई मत नै छैनन् ।