Shittalpati
कोरोना कायमै छ सचेत बनौं

दुई वर्ष अघि चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । अहिले पनि यसको प्रभाव घटेको छैन । कुनै कुनै समय सुषुप्त रहने यो भाइरसले विभिन्न रूप फेर्दै मानिसको ज्यान लिइरहेको छ । नेपालीहरुका महान चार्ड सकिएका छन् । तर कोरोना भने कायमै छ । जोखिम अझै पूर्ण रुपमा न्यूनिकरण नभइसकेको अवस्थामा अहिले सर्वसाधारणको हेलचेक्याई अत्याधिक बढेको छ ।

सार्वजनिक स्थलमा जाँदा साधारण स्वास्थ्य मापदण्ड समेत पालना भएको पाइदैन । बढी भीडभाड हुने क्षेत्रमा सेनिटाइजरको प्रयोग हुन छाडेको छ भने भीडभाड क्षेत्रमा जाँदा सर्वसाधारणले मास्कको प्रयोग समेत गर्न छाडेका छन् । सर्वसाधारणको हेलचेक्याई बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सचेत रहन आग्रह गरेको छ । सरकारले जारी गरेको साधारण मापदण्डमा समय समयमा सेनिटाइजर लगाउने, भीडभाडमा मास्क प्रयोग गर्ने उल्लेख भएपनि सर्वसाधारण खुल्लम खुल्ला भीडभाड हुने क्षेत्रमा जाने गरेकाले कोरोनाको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको हो । चाडपर्व पछि कोरोना संक्रमणको अवस्था भयावह हुने संकेत देखिन थालेका छन् । यस अघि दैनिक एक/दुई सयमा सिमित बनेको कोरोनादर अहिले फेरी विस्तारै उकालो लाग्न थालेको छ । पछिल्ला दिनहरुमा दैनिक तीन सय भन्दा माथि कोरोना संक्रमित देखिन थालेका छन् । यसले पनि संक्रमणको अवस्था अझै कायमै रहेको स्पष्ट हुन्छ । नेपाल सहितका देशमा केही महिना संक्रमण दर घटे पनि कात्तिक महिनाबाट पुनः संक्रमित बढ्न थाल्दा चुनौती भने थपिएकै छ । अहिले पनि विश्वका विकसित मुलुकको सूचीमा रहेका देशले कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सकेका छैनन् । यो अवस्था नियाल्दा भ्याक्सिन र उपचार व्यवस्थापनमा कमजोर मानिएका देशमा अब फैलन सक्ने कोरोना नियन्त्रणको अवस्था के होला अनुमानसमेत गर्न सकिँदैन । पछिल्लो समय विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्रता दिएका छन् । तर, खोप लगाएकालाई पनि पुनः संक्रमण देखिने र मृत्युसम्म भएका घटना बढ्न थालेकाले अबको समय नियन्त्रणका लागि नयाँ कदम चाल्नुपर्ने चुनौती विश्वका मुलुकहरूमा छ । नागरिकले पनि खोप लगाएकै छु, सुरक्षित छु भन्दै स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमणले नयाँ रूप लिइरहेको छ । तसर्थ कोरोना संक्रमण अझै पनि कायमै रहेकाले यस विषयमा सबै सचेत बन्नै पर्दछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update