Shittalpati
गणेशमानको स्मरण

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती बुधबार मनाइएको छ । उनको स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाइने गरिन्छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा गणेशमानलाई लिने गरिन्छ । गणेशमान सिंहले राणाशासन हटाउनमा सक्रियरुपमा उल्लेख्य भूमिका खेलेका थिए । राणाशासन फाल्ने अभियानमा लाग्दा उनले केही वर्ष जेलको बाससमेत भोग्नुपर्‍यो । २००७ सालमा नेपालमा पहिलोपटक प्रजातन्त्र आउनुभन्दाअघि नै गणेशमानले भद्रगोल जेल तोडेर भागेको इतिहासले अहिले पनि सगर्व उल्लेख गर्ने गर्छ । यस अर्थमा पनि उनलाई साहसी व्यक्तिका रुपमा सधैभ स्मरण गर्ने गरिन्छ । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन उनी सदा क्रियाशील भएका थिए ।

तत्कालीन अवस्थामा पञ्चायती व्यवस्थाको विरोधका लागि सबैलाई समेट्नु र त्यस व्यवस्थाको विरूद्धमा आन्दोलनलाई नै अघि बढाएर तत्कालीन जटिल अवस्थालाई नेतृत्वमार्फत सर्वोच्चरुपमा हाँक्नु पक्कै पनि चानचुने कुरा थिएन । त्यसैले पनि नेपालमा प्रजातन्त्रको पुनः आरम्भ गर्ने सन्दर्भमा गणेशमान सिंहले खेलेको उच्च भूमिकाको सधैँ नै प्रशंसा हुँदै आएको छ । जीवनमा पटकपटक अवसर पाउँदा पनि उच्च लाभको पद उनले कहिल्यै लिन नचाहेको इतिहास छ । ०४६ सालको ऐतिहासिक जनआन्दोलनले सफलता प्राप्त गरेपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्रीजस्तो देशको सर्वोच्च पदमा विराजमान गराउन नखोजेका भने होइनन्, तर त्यसरी प्राप्त भएको प्रधानमन्त्रीको पदलाई उनले त्यतिबेला अस्वीकार नै गर्न पुगेका थिए । यस्तो त्यागको उच्च नमुना राजनीतिमा लागेकाहरु जो कोहीमा हुँदैन । राजनेतामा त्यागको आवश्यकता हुन्छ। तर अहिलेका राजनेतामा त्यस्तो त्याग भने देखिदैन । यो आफैमा दुखद् हो । देशको असल राजनीति गर्ने नेताहरुले गणेशमानबाट सिको गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update