गाउँपालिका :
गाउँपालिका भनेको नगरपालिका होइन । गाउँ नै गाउँहरूको पालिका हो । गाउँ, टोल र गाउँलेहरूको संरक्षण, संवद्र्धन तथा पालनपोषण गर्ने वाला नै गाउँपालिका हो । गाउँका ठाउँ र नाउँ के कस्ताखालका हुन्छन्, त्यहाँका मान्छेहरूले के गर्द छन् र भन्दछन् भन्ने कुरा गाउँवासीबाट नगरवासी भएकालाई थाहा नहुने कुरै पो भएन । गाउँघरमा अर्को मान्छेको मनको कुरा सुन्दछन्, बुझ्दछन् र मलहम लगाउँने उच्च प्रयास गर्दछन् । त्यस्तै मध्येका मनकारी मान्छेहरूले भरिएका मूख्य ५ वटा गाउँहरू मिलेर बनेको सुन्दर इस्मा गाउँपालिका हो ।
इमान, धर्म तथा मनकारी मान्छेका मनहरू मिलेर नै अवश्य इस्मा बने होला वा भएहोला । मनमा दया, माया र करुणा भएकाहरू यस क्षेत्रका मायाका खानी हुन् । आँखाका नानी हुन् । कसैका बेइमानी होइनन् । इमानी र जमानी पनि हुन् । असल आनीबानी भएका इस्मालीका आत्मिकमनहरू हुन् । यहाँका मानिएका मामलाहरूमा मनकारी मान्छेहरू लागि परेको देखिन्छन्, पाइन्छन् । मधुरतम स्वरमा मनोहर तरिकाले मदहोस् नभइकन सबैका मनमा बास गर्न सफल भइरहेको आभास मिल्दछ ।
गाउँ र नगर :
आजभोलि क्रमश प्रायः गाउँहरू नगरोन्मुख बन्दै गइरहेका छन् । नगर हुनुका आचार संहिताहरूको अंगिकार गर्दै गाउँका गान र सानलाई भुल्दैछन् । यो कुरा त्यति शोभनीय पक्कै पनि होइन । नगरका मान्छे त्यति इमानका हुँदैनन् भन्छन् । वल्लो घरमा परेको समस्या पल्लो घरकालाई कुनै वास्तै हुँदैन तर एक गाउँमा परेको समस्यामा सात गाउँसम्मकाले साथ दिइरहेको पाइन्छ । गाउँमा कोही नचिनेको पाहुना मान्छे आयो भने साँझको देउता भन्दै भगवानसरह मान्दछन् । उसलाई सक्दो सेवा सत्कार गर्दछन् । पछिल्लो समयमा विकसित धेरै प्रविधि र पश्चिमा संस्कारहरूले गर्दा गाउँगाउँका मान्छेहरू पनि हराउँदै गएका छन् । उनीहरू नगरका जस्तै बन्न खोजेको देखिन्छ । कोही कोही त्यस्तै हुँदै पनि गएका छन् । उनै गाउँका मनकारी मनहरूमा नगरको नक्कल बढिरहेको छ । अक्कल विनाको नक्कलले गर्दा सहयोगी मनलाई पनि असहयोगी तुल्याउँदै गएको महसुश भएर आउँछ ।
इमान र इज्जत :
वास्तवमै समतामूलक तथा समृद्ध इस्मा बनाउँन यहाँका सबै मामलाहरूमा मन, वचन र कर्महरूले नलागी हुँदैन । मन एकातिर र वचन अर्कातिर गर्ने राष्ट्रिय प्रचलनलाई यहाँ त्यति साह्रै प्रश्रय दिनु हुँदैन तर गाँइगुँई रुपमा त्यस्तो हुन थालेको हो कि भन्ने सुनिन्छ । वचनवद्ध हुन त्यति सजिलो छैन जति बोल्नमा हुन्छ । कर्म गरेर वचन पुरा गरियो भने मात्र समृद्धिमा पुग्न सकिन्छ । नारालाई घन्काएर मात्र हुँदैन । टोल टोलमा कार्यान्वयनमा लैजानु पर्दछ । सबैले इमान्दारी तरिकाले काम गर्नु पर्दछ । तब मात्रै इमानी हुनुको महानता प्रमाणित हुन्छ । कुनै पनि महानताको लागि गहनता अनिवार्य हुन्छ । गम्भिर भइकन गहिराईमा नपुगेसम्म महानता प्राप्ती अवश्य हुन सक्तैन । आग्रह पूर्वाग्रहरहित ढंगले चिन्तन मनन गरी लागियो भने मानवता र महानता सँगसँगै आउँदछ । यसरी इमानी र मनकारी भएको कुरा सबैले मान्दछन् । कुत्सित मानसिकताबाट प्रेरित कुविचारहरू परपर भाग्दछन् । समृद्धिका मुनाहरू मौलाउँने सुनौलो सुअवसर मिल्दछ । यसै तौरतरिकाबाट गरिएका क्रियाकलापहरूले नै महानता वा इमानको मानकता प्रस्ततु गर्दछ अनि बल्ल समृद्ध या समतामूलक इस्मा बन्दछ ।
(लेखक हाल –बगनासकाली गाउँपालिका पाल्पामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत छन् । )