आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ । ‘मेरो गणना: मेरो सहभागिता’ भन्ने मूल नारासहित सञ्चालन भएको जनगणना मङ्सिर ९ गतेसम्म हुने छ । गणनालाई विश्वसनीय र पारदर्शी बनाउनका लागि ४० हजार गणक र आठ हजारभन्दा बढी सुपरिवेक्षक खटिएका छन् । पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम आजदेखि सुरु हुन लागेको हो । राष्ट्रिय जनगणना १०/१० वर्षको अन्तरालमा हुने गर्दछ । यसको महत्व सर्वोव्यापी रुपमा रहेको छ । नेपालले नयाँ संविधान प्राप्त गरेपछिको यो पहिलो जनगणना भएकाले पनि यसले अहिले सर्वाधिक महत्व राख्न पुगेको देखिन्छ । कोभिड महामारीका कारण ढिलो नै भए पनि जनगणनाको अन्तिम चरणको काम हुन गइरहेको छ, जुन आफैँमा स्वागतयोग्य पनि छ । पटकपटक अनिश्चयको भुमरीमा पर्दै आएको जनगणना टुङ्गोमा पुग्नुलाई सुखद् पक्षका रुपमा नै लिन सकिन्छ ।
देशको आर्थिक सामाजिक विकासका योजना होस् वा दिर्घकालिन रणनैतिक योजनाहरु निर्माण गर्दा होस्, त्यहाँ गुणस्तरीय तथ्यांकको आवश्यकता पर्छ । जनगणनाबाट देशको सामाजिक, आर्थिक पक्षको समग्र तथ्यांकहरू प्राप्त हुने भएकाले यसलाई योजना निर्माणको महत्वपूर्ण आधार मान्ने गरिन्छ । जनगणनामा प्रत्येक घर परिवारबाट आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक सूचनाहरु संकलन गरिने भएकाले यसबाट प्राप्त तथ्याकहरु बढी तथ्यपरक, एकीकृत र विश्वसनिय हुनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यसलाई महत्वपूर्ण रुपबाट हेर्ने गरिन्छ । संघ, प्रदेश र स्थानीय तहले आफुलाई सक्षम सरकारको रुपमा देखाउनको लागि विभिन्न विकासका कार्यक्रमहरु अघि बढाइरहेका छन् । तर सरकारका नीति, कार्यक्रम र योजनाहरुलाई सफल बनाउनको लागि आवश्यक तथ्यांकको अभावले गर्दा कुन कामलाई प्राथमिकता दिने भन्ने बारेमा उनीहरु अलमलमा छन् । पुराना तथ्यांकमा टेकेर गरिएका योजनाहरु प्रभावकारी बन्न सकिरहेका छैनन्, यो जनगणनाले पहिलो पटक संघीय संरचनाको आधारमा तथ्यांकहरु संकलन गर्दैछ, जुन तथ्यांक संघीयता कार्यान्वयन र दिगो समृद्धिको लागि आधार हुने निश्चित छ । हुन त विगतका जनगणनाहरु विवादित नभएका हैनन् । अब भने त्यस्तो विवादित नहुन भन्नेमा सबै सजग हुन जरुरी छ । पछिल्ला दिनहरुमा बसाइँसराईको समस्या उग्र बन्दै गएको र लाखौँ नेपाली विदेशमा समेत रहेको अवस्थाले जनगणना थप चुनौतीपूर्ण बन्ने निश्चित छ । तर सबै नागरिकहरुले सही तथ्याङ्क दिएको खण्डमा केही सहज भने हुने छ । जनगणना मानिसको संख्या गन्ने काम मात्र नभएर समाजको दिशा निर्धारण गर्ने काम पनि हो । जनगणनालाई देश निर्माणको आधार बनाउने कि द्वन्द र समाज विनासको आधार बनाउने भन्ने कुरा प्रत्येक नेपालीको हातमा छ । तसर्थ प्रत्येक नागरिकले जनगणना २०७८ लाई सफल पार्न सही तथ्याङ्क दिएर सहयोग गरौं ।