छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ । तराईमा बसोवास गर्नेहरुले परम्परादेखि नै यो पर्व मनाउदै आएको पाइन्छ । हुन त, छठ पर्वलाई मधेसी समुदायको मात्र विशेष पर्वका रुपमा लिइने गरिए पनि पछिल्लो समयमा के पहाडीया, के मुस्लिम सबै वर्ग र समुदायका लागि हर्षोल्लासपूर्ण चाड बन्दै गएको छ । विगतका वर्षहरुमा त्यति धेरै सहभागी नहुने पहाडी जिल्लाहरुमा बसोबास गर्ने समुदायहरुले पनि हालैका वर्षहरुमा आएर यो पर्वलाई दसैँतिहारसरह नै मनाउने गरेका छन् । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो ।
यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुईटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो । यो पर्व मूलतः सूर्यको पूजा–उपासना गरी मनाइने चाड हो । छठ पर्वमा सूर्यको आराधना गर्ने परापूर्वदेखिको समृद्ध मान्यता छ । छठ पर्वकै लागि भनेर जतासुकैका ताल–पोखरीहरु झकिझकाउ पारिन्छन् । पर्व मनाउने क्रममा धार्मिक गीत–संगीतको गुञ्जनले वातावरण नै छठमय बनिरहेको हुन्छ । धार्मिक मान्यताअनुसार समापन हुने दिनको अघिल्लो साँझ अस्ताउँदो सूर्यलाई अध्र्य दिने र समापन हुने दिनमा उदाउँदो सूर्यलाई अध्र्य दिएपछि छठ पर्वको समापन भएको मानिन्छ । यो पर्व कृषिमा आधारित पर्वका रुपमा पनि लिने गरिन्छ । यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पंखाका साथै प्रसादका रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भण्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रुपमा ठेकुवा, भुसुवा र मिठाई प्रसादको रुपमा चढाउने गरिन्छ । यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ । यो खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ । हरेक पर्वको आफ्नै मौलिक संस्कृति र इतिहास रहेको हुन्छ । छठको पनि आफ्नै संकृति रहेको छ,यसलाई सकारात्मक मान्नुपर्छ । आ–आफ्नो धर्म–संस्कारलाई मनाउनु गलत हैन बरु संस्कृतिलाई निरन्तरता दिन नसक्नु चाही मानविय कमजोरी हो । छठ पर्वसँगै हरेक पर्वहरुलाई निरन्तरता दिनु र त्यसको संरक्षण गर्नु नै महत्वपूर्ण रहन्छ । जुनसुकै पर्वले नेपाली–नेपालीहरुमाझ नै आत्मीयता, सद्भाव र सहिष्णुताको विकास गरेको हुन्छ । त्यसैले छठ पर्वलाई सोही अनुसार मनाउन सके यसको महत्व अझ बढेर जाने छ ।